Weather : 13.8° Celsius Kathmandu
धादिङ : उत्तरी धादिङको खनियाबास गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ ।
गाउँपालिकाको झार्लाङ स्वास्थ्य चौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी र खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको हो ।
स्वास्थ्य संस्थामा आधारभूत औषधिसमेत नभएको सेवाग्राही र स्वास्थ्यकर्मीले बताएका छन्। स्वास्थ्य संस्थामा दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोल लगायतका औषधि नहुँदा उपचारमा समस्या भएको छ ।
स्वास्थ्य सेवाको मूल्याङ्कन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधि रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखहरुले बताएका छन् ।
वर्षमा एक पटक मात्रै औषधि आउने र बिरामीको सङ्ख्या बढी भएकाले औषधिको अभाव भएको झार्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले बताउनुभयो ।
संस्थामा निःशुल्क वितरण गरिने औषधिमध्ये सिटामोल सकिन लागेकाले बिरामीलाई एक/दुई चक्की मात्रै दिने गरेको र अन्य नियमित वितरण गरिने औषधि भने माघमै सकिएको स्वास्थ्य चौकीका इन्चार्ज पाठकको भनाई छ ।
स्वास्थ्यचौकीमा देखिएको औषधिको अभावका विषयमा आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलामान तामाङले बताउनुभयो ।
यसैगरी गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले औषधि अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने बताउनुभएको छ ।
डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्था कार्ययोजना बनाउन सहयोग गरेको थियो । सोही अवसरमा स्वास्थ्य संस्थाको स्वमूल्याङ्कन गरी नियमित औषधि तथा अत्यावश्यक सामग्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्नेमा वडाध्यक्षहरुले जोड दिनुभएको छ ।