धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / नेपाल

धादिङ महोत्सवको उद्घाटन, बुढीगण्डकी आयोजनाको निर्माण कार्य सुरु गर्न सरकारकाे ध्यानाकर्षण

धादिङकाे विकासका लागि बागमती प्रदेश सरकारले नमुना कामहरु सुरु गरेको मुख्यमन्त्री पाण्डेको भनाइ

धादिङ महोत्सवको उद्घाटन, बुढीगण्डकी आयोजनाको निर्माण कार्य सुरु गर्न सरकारकाे ध्यानाकर्षण

धादिङ: धादिङ उद्योग बाणिज्य संघले आयोजना गरेको आठौँ धादिङ महोत्सवको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवं भर्खरै धादिङ क्षेत्र नं १ बाट निर्वाचित संघीय साँसद राजेन्द्र पाण्डेले एक औपचारिक समारोहको वीच महोत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा स्वागत सम्वोधन गदै धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले धादिङको विकासका लागि जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको काम तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै धादिङको राजमार्ग क्षेत्रलाइ मापदण्ड बनाएर औद्योगिक करिडोरको रुपमा विकास गर्न, उत्तरी धादिङको परिचयको रुपमा रहेको रुवी ढुङगाको उत्खननलाइ बैध बनाइ प्रशोधन र विक्री सहज गराउन, धादिङ जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि पर्यटन गुरु योजना निर्माण गर्न तथा यस जिल्लामा पर्ने गल्छी केरुङ मार्ग, मध्य पहाडी लोक मार्ग धादिङवेशी भर्याङ भुरुङ केरुङ मार्ग समयमा नै निर्माण सम्पन्न गर्नको लागि बागमती प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै राजधानी लगायत ठुला शहरहरुलाइ आवश्यक पर्ने दुध र तरकारीको प्रचुर सम्भावित क्षेत्र धादिङ भएपनि यी उत्पादनहरुलाइ अझै बजारिकरण र ब्यवसायीकरण गर्न आवश्यक भएकाले त्यसतर्फ ध्यान दिदै निति निर्माण र योजना बनाउन समेत सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

महोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले महोत्सव उद्घाटन सत्रलाइ सम्वोधन गर्दै धादिङ जिल्लाको विकासका लागि बागमती प्रदेश सरकारले नमुना कामहरु सुरु गरेको बताएका छन् । 
पाण्डेले भने, ‘रुवीभ्याली गाउँपालिकाको विकासको लागि रुवीभ्याली एकिकृत विकास परियोजना सुरु भएको छ । अव उत्तरी धादिङलाइ राष्टिय राजमार्गमा जोडेर त्यहाँको जनजिवनलाइ सहज बनाउने काम सुरु हुन्छ ।’ 

धादिङकै ज्वालामुखी गाउँपालिकामा कृषि क्षेत्रमा नवप्रवर्तन कार्यक्रम सुरु भएकाले त्यस क्षेत्रका स्थानीय कृषि उत्पादनहरुलाइ बजारिकरणमा त्यसले सहयोग गर्ने पाण्डेले बताएका हुन् । सम्वोधनका क्रममा मुख्यमन्त्री पाण्डेले आँखुनदी जलविद्यूत निर्माण कम्पनीहरुको हब बनेकाले त्यहाँ उत्पादन हुने करिव १ सय ५० मेगावाट विजुली राष्टिय प्रशारण लाइनमा जोड्नको लागि आगामी ५ वर्षभित्र स्पष्ट योजना ल्याइने बताए ।

त्यस्तै धादिङको विकासको लागि कोशेढुङगा सावित हुने जलाशययुक्त बुढीगण्डकी जलविद्यूत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न आगामी सरकार र संसदमा जोडदार पहल गर्ने समेत बताएका छन् ।

हिमाली पर्यटनको प्रचुर सम्भावना बोकेको धादिङ जिल्लामा पर्वतीय पर्यटन प्रशिक्षण सेन्टर स्थापना गर्नको लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउदै पाण्डेले आगामी निति कार्यक्रममा त्यसलाइ समेटेर स्पष्ट योजना बनाइने बताएका हुन् ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले राष्टिय अर्थ ब्यवस्थाको विषम परिस्थितिमा जारी गरिएको चालु पुँजी कर्जा निति २०७९ ले देशका उद्योग धन्दाहरु बन्द हुने स्थितिमा पुगेको भन्दै यस विषयमा गम्भीर भएर सोच्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठले बैङ्कहरुले अनुचित ढंगले गरेको ब्याजदर बृद्धिलाइ तत्काल स्थगीत गरि ब्यववासीहरुलाइ राहत दिन सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएका छन् ।

कार्यक्रममा धादिङ क्षेत्र नं २ का साँसद रामनाथ अधिकारी, प्रदेश साँसदहरु गोविन्द लंसाल, डम्वर तामाङ, मायादेवी शर्मा, पुर्व साँसद गुरु बुर्लाकोटी नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाली काँग्रेस धादिङका पुर्व सभापति रमेश धमला नेकपा एमाले धादिङका नेता अर्जुन गोर्खाली, नेकपा माओवादी धादिङका संयोजक मनराज भण्डारी शैलेश, विभिन्न गाउँ तर नगरपालिकाका प्रमुखहरु लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन सत्र अघि धादिङवेशी पुछारबजारबाट विभिन्न समुदायको साँस्कृतिक रहनसहन र पोशाकमा झाँकी तथा शोभायात्रा निकालिएको थियो । महोत्सव पुष १७ गतेसम्म चल्नेछ । महोत्सवमा शुक्रवारदेखि राष्टिय तथा स्थानीय कलाकारहरुको साँस्कृति प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल