Weather : 30.35° Celsius Kathmandu
धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले बागमती प्रदेशमै पहिलोपटक समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गरेको छ।
मनसुनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीले तालिमको आयोजना गरेको हो।
गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य विपद्को सम्भावना बढी रहेको आँकलनपछि नगरपालिका र सुरक्षा संस्थाले विपद् पूर्वतयारी स्वरूप खोज, उद्धार, प्राथमिक उपचार लगायतका महत्वपूर्ण पक्षमा केन्द्रित भएर १८ दिने तालिम सञ्चालन गरेका हुन्।
तालिममा नगर प्रहरी, सामुदायिक स्वयंसेवक, गृहिणी लगायत २५ जनाको सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाका अनुसार सहभागीहरुलाई डुबान तथा बाढीबाट उद्धार गर्ने, भूकम्प र पहिरोमा हराएका व्यक्तिको खोजी तथा उद्धार गर्ने सीप, साथै प्राथमिक उपचारका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो।
तालिम समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामीछानेले विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियतामा आधारित समुदाय स्वयंसेवक उत्पादन गर्ने प्रदेश सरकारको नीति रहेको जानकारी दिए ।
प्रदेश सरकारले हरेक पालिकालाई ५/५ लाख रुपैयाँको दरले विपद् स्वयंसेवक तालिम सञ्चालन गर्न अनुदान उपलब्ध गराउने नीति ल्याए पनि चालु आर्थिक वर्षमा धादिङ जिल्लाबाट गजुरी गाउँपालिकाबाट मात्रै माग भएको लामिछानेले बताए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानाले विपद्का बेला राहत तथा सामग्री व्यवस्थापनको नीति सहज बनाउनुपर्ने सुझाव दिए।
उनले जिल्लामा तत्काल प्रयोग गर्न सकिने किसिमको पूर्व तयारी कोषको आवश्यकता औंल्याउँदै यस्तो किसिमको संरचना निर्माण गर्न र छिटो छरितो परिचालन गर्ने निती बनाउन आग्रह गरे ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको विपद् पूर्वतयारी तथा मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार भइसकेको र त्यस अनुसार सवै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उनका अनुसार राजमार्ग क्षेत्रमा सम्भावित जोखिमयुक्त ८६ स्थान पहिचान गरिएको र ती स्थानमा आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको छ।
यो तालिमले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने अपेक्षा लिइएको छ। सहभागीहरुले सिकेका सीपहरू आगामी विपद्का बेला समुदायको सुरक्षामा उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।