Weather : 30.34° Celsius Kathmandu
नीलकण्ठ नगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म, धादिङको संयुक्त आयोजनामा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सोमबारदेखि सुरु भएको छ । सशस्त्र पहरी बलको परिसरमा सञ्चालन भएको तालिमको नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्माद्वारा उद्धाटन गरिएको हो ।
गुल्मपति एवं प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलियाको संयोजकत्व र नगर उप-प्रमुख विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धाटन समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक राम्री नेपाली, स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख रोशन कोइराला, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङ, नगर प्रहरी प्रमुख डिल्लीरमण लंसाल लगायतको उपस्थिति रहेको थियो ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समुदायस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिममा नगर प्रहरी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, स्वयंसेवी समुह लगायतको सहभागिता रहेको छ ।
तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई सशस्त्र प्रहरी बलका अनुभवी प्रशिक्षकहरूबाट विपद्को जोखिम मूल्यांकन, उद्धार प्रविधि, प्राथमिक उपचार, सर्च एण्ड रेस्क्यु र जल उद्धार लगायतका विषयहरूमा तालिम दिइने नीलकण्ठ नगरपालिकाका स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख रोशन कोइरालाले जानकारी दिनुभयो । आगामी असार १५ गतेसम्म चल्ने यस प्रकारको तालिमले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता र तत्परता सुनिश्चित गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।