Weather : 21.12° Celsius Kathmandu
धादिङ: गत चैत्र २७ गते धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं २ बस्ने ६० बर्षिय चुडामणी कँडेल आफ्नै घरको ट्वाइलेटमा घाँटीमा डोरी कस्सिएको अवस्थामा मृत फेला परे ।
उनको शव क्षतिविक्षत थियो । घरभित्रै शव भेटिएपनि शवको प्रकृति हेर्दा कसैले हत्या गरेरै फालेको शव देख्ने जोकसैले अनुमान लगाउन सक्ने थियो ।
घटना रहस्यमयी देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खवर गरे । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट एसपी दीपेन्द्र शाही र इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपी विकास थापा सहितको अनुसन्धान टोली घटनास्थल पुग्यो ।
मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल वीच पारिवारिक सम्वन्ध राम्रो थिएन । एकै घरमा बस्ने खाने गरेपनि बोलचाल नहुने, घर सल्लाह केही पनि नहुने देखेका स्थानीयहरुले घटनाको निस्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।
मृतक चुडामणीकै श्रीमतीले पनि घटनाको अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिइन, पोष्टमार्टम पछि परिवार र आफन्तले चुडामणीको अन्त्येष्टी गरे । घटना रहस्यमयी देखेपछि जिल्ला प्रहरी कार्यालयले पनि विभिन्न कोणबाट अनुसन्धान कार्यलाई अगाडी बढायो ।
घटनाको संवेदनशीतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले बागमती प्रदेश प्रहरी कार्यालयको सहयोग लिएर कुकुर समेत परिचालन गरी अनुसन्धान गर्न थाल्यो । अनुसन्धान गर्दै जाँदा मृतक चुडामणीले श्रीमती संग राम्रो सम्वन्धमा नभएकै कारण हत्या गर्नको लागि जसलाई सुपारी दिएका थिए, उसैले चुडामणीको हत्या गरेको तथ्य प्रहरीले पत्ता लगायो ।
हत्यामा संलग्न मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं ९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङलाई प्रहरी पक्राउ गरिसकेको छ । उनीहरु मध्ये अक्कल बहादुर प्रजा भने मृतक चुडामणीकै घरजग्गा भाडामा लिएर खेतीकिसानी गर्दै आएका थिए ।
यस्तो छ घटना विवरण
प्रहरीका अनुसार श्रीमानसंग राम्रो सम्वन्ध नभएपछि श्रीमती सुस्मिता धेरै जसो समय काठमाडौ सीतापाइलाको घरमा बस्ने गर्थिन् । उनीहरुको एक छोरा अध्ययनको लागि क्यानडामा छिन भने छोरी पनि काठमाडौंमै बस्ने गरेकि थिइन् । चुडामणी भने गाउँकै घरमा खेती किसानी गरेर बसेका थिए ।
सुस्मिता बेला बेलामा गाउँको घर आउँदा मृतक चुडामणी र सुस्मिता एउटै घरमा एउटै भान्सा प्रयोग गरेपनि बोलचाल भने नहुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । घटना घटेकै दिन भन्दा दुइ साता अघि गाउँ आएकी सुस्मिता उक्त घरमा १० दिन बसेर घटना भएकै दिन काठमांडौ गएकी थिइन् ।
प्रहरीका अनुसार मृतक चुडामणीले श्रीमतीको हत्याको योजना बनाएर अक्कल बहादुर प्रजालाई श्रीमतीको हत्या गर्नको लागि ४ लाख रुपैयाको ‘सुपारी’ दिएका थिए । गाउँकै स्थानीयलाई सस्तोका जग्गा बेचेर पैसा जुटाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
श्रीमतीको हत्या गर्नको लागि सुपारी दिएका अक्कल बहादुर तीनै थिए जसले चुडामणीकै खेतबारी कमाइ गरी गएको मंसिर महिनादेखि उनीहरुसंगै बसेका थिए । सुस्मिताको हत्या गर्ने ‘सुपारी’ पाएपछि अक्कलबहादुरले उक्त योजनामा अन्य दुइ ब्यक्तिहरु पृथलाल र सञ्चलाललाई पनि समावेश गराए ।
उनीहरुले सुस्मिताको हत्याको लागि पटक पटक योजना बनाएपनि सफल भएनन् । त्यसपश्चात चुडामणीले हत्याको लागि आफुले दिएको पैसा फिर्ता गर्न ताकेता गरे ।
पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरुले सुस्मिताको हत्या गर्न त सकेनन् नै, पैसा पनि फिर्ता गर्न नसकेपछि अक्कल बहादुर सहित तीनै जनाले चुडामणीकै हत्या गर्ने योजना बनाए । त्यसपछि चैत २४ गते राती चुडामणी घरभित्र भएका बेला कोदालोको बीँडले हानेर र घाटीमा डोरी कसेर चुडामणीको हत्या गरेपछि अभियुक्त तीनै जना पृथ्वीराजमार्ग झरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी दीपेन्द्र शाहीले भने, ‘श्रीमतीको हत्या पनि गर्न नसकेको र आफुले दिएको पैसा पनि फिर्ता मागिरहेकाले उनीहरुले चुडामणीकै हत्या गरेपछि सवै समस्या समाधान हुने निष्कर्षमा अभियुक्तहरु पुगेपछि घटना भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।’
घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरुमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थमा १ लाख रुपैया बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । हत्या पश्चात फरार भएपछी स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको पनि प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरु तीनै जनालाई जिल्ला अदालत धादिङबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।