Weather : 21.12° Celsius Kathmandu
धादिङ: नेपाली काँग्रसको भातृ संगठन नेपाल तरुण दल धादिङ यतिबेला पाँचौ अधिवेशन गर्ने संघारमा आइपुगेको छ ।
धादिङका १ सय ४ वटै वडामा जिल्लाबाट खटिगएका प्रतिनिधिहरुले वडा वडाबाट पुर्णकालिन सदस्यता वितरण गर्ने र सदस्यहरुको नाम केन्द्रमा पठाउने काम गरिरहेका छन् ।
सोमबारसम्म २५ वटा भन्दा बढी वडाबाट पुर्णकालिन सदस्यता फारम जिल्लामा आइसकेको र त्यसलाई केन्द्रमा पठाएर सदस्यता समेत स्वीकृत भइसकेको केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए ।
बुधवार सम्म ६ सय भन्दा बढी पुर्णकालिन सदस्यहरु केन्द्रले स्वीकृत गरिसकेको बताइएको छ । पुर्णकालिन सदस्यता फारम बुझाउने म्याद चैत्र २० गतेसम्म रहेको र उक्त अवधीभित्र १५ सय भन्दा बढी युवालाई पुर्णकालिन सदस्यता दिलाउने अभियान रहेको समेत अध्यक्ष विश्वकर्माले बताए ।
पुर्णकालिन सदस्यता स्वीकृत भइसकेका वडाहरुमा चैत २१ गतेबाट अधिवेशनको काम सुरु गरिने पनि विश्वकर्माले जानकारी दिए । उनले भने, ‘जुन जुन वडाको पुर्णकालिन सदस्यता फारम स्वीकृत भएको छ, त्यहाँ चैत २१ गतेदेखि अधिवेशन सुरु हुन्छ ।’
धादिङ जिल्लाका १३ वटै पालिकाका वडाहरुमा अधिवेशन गरिने र पालिका क्षेत्र हुदै जिल्ला तहको अधिवेशन गर्ने तयारीमा तरुण दल धादिङ लागिपरेको छ ।
पालिका भित्रका सवै वडाहरुको अधिवेशन सकिएपछि पालिकाको अधिवेशन गर्ने र सवै पालिकाको अधिवेशन सकिएपछि क्षेत्र र जिल्लाको अधिवेशन गर्ने गरी काम अघि बढिरहेको अध्यक्ष विश्वकर्माले बताए ।
नेपाल तरुणदलको विधान अनुसार हरेक वडाबाट ८/८ जनाका दरले पालिकाको लागि प्रतिनिधि छानिनेछन् । वडाबाटै १ जना महिला सहित २ जना पुरुष र वडा सभापति जिल्लाको लागि प्रतिनिधि छानिने ब्यवस्था रहेको छ । त्यस्तै पालिका अधिवेशन पश्चात पालिकाबाट पनि जिल्लाको लागि प्रतिनिधि छानिने ब्यवस्था रहेको छ ।
अव तरुण दल धादिङको अधिवेशन अधिवेशन हुदैनकी....? रोकिन्छ कि...? नेताहरूले रोक्छन कि...? केन्द्रले अधिवेशन गराउँदैन होलाकी...? अथवा गोपाल विश्वकर्मा आफै अध्यक्ष भइरहन अधिवेशन लम्ब्याउने तरखरमा पो छकी....? भन्ने भ्रम र दोधारमा नपर्न अध्यक्ष विश्वकर्माले सम्पूर्ण तरुणदलका सदस्य र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुमा सार्वजनिक अपील समेत गरेका छन् ।
सवै वडा र पालिकाको अधिवेशन गरी ७७ जिल्लामै पहिलो जिल्लाको रुपमा जिल्ला अधिवेशन गराउन तयारीका साथ गतिविधिहरु अघि बढाइरहेको अध्यक्ष विश्वकर्माले टेलिपत्रलाई बताए ।
धादिङ काँग्रेसमा यतिबेला स्पष्ट रुपमा दुइलाइन संघर्ष बढिरहेको छ । नेतृत्व तहमा रहेका नेताहरु पार्टी सभापति रामनाथ अधिकारी, निवर्तमान सभापति रमेश धमला र १४ औं अधिवेशनमा सभापतिका प्रत्यासी एवं नीलकण्ठ नगरका मेयर भीम ढुङगानाबीच मै आपसी तालमेल हुन नसक्दा पार्टीका हरेक गतिविधि हुनै सकिरहेका छैनन् भने भइरहेका गतिविधिहरु पनि विवादित बनिरहेका छन् ।
नेताहरुको बेमेल र अन्तरकलहकै कारण नेविसंघको पकड मानिएको सदरमुकामको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघबाटै दुइवटा प्यानल बनेर चुनाव नै स्थगित हुन पुगेपछि पार्टीभित्रको गुटवन्दी र अन्तरकलह छताछुल्ल हुन पुगेको छ ।
यस्तो अवस्थामा काँग्रेस पार्टीकै मेरुदण्ड मानिएको तरुण दलको अधिवेशन के होला र कसो होला भन्ने आमचासो काँग्रेसी कार्यकर्ताहरुमा देखिएको छ ।