Weather : 20.12° Celsius Kathmandu
धादिङ : ११ औं अधिवेशनबाट निर्वाचित धादिङ उद्योग बाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् ।
संघको गत पुस २६ र २७ गते धादिङवेशीमा भएको ३१ औं साधारण सभा तथा ११ औ अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो ।
धादिङ उद्योग बाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका ब्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने ब्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरिएको थियो ।
तत्पश्चात बुधवार नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष (आगामी कार्यकालको अध्यक्ष) अन्जन श्रेष्ठको उपस्थितिमा एक समारोहको आयोजना गरी पदभार ग्रहण गरिएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले वर्तमान अध्यक्ष राम कुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।
निवर्तमान अध्यक्ष विष्ण्ुा प्रसाद थपलियाको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघका जिल्ला/नगरतर्फका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्य, महासंघका केन्द्रिय सदस्यहरु तारा बहादुर कार्की, बेद बहादुर श्रेष्ठ र अरनिको राजभण्डारी, सविन श्रेष्ठ लगायत विभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष, पुर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उद्योगी ब्यवसायीहरुको निकै चुनौतीपुर्ण समस्याग्रस्त समय रहेका बेला नयाँ कार्यसमिति निर्वाचित भएकाले यो समितिले उद्योगी ब्यवसायीहरुको साझा समस्या पहिचार गरी सम्वोधन गर्न र अधिकार स्थापित गराउन सफल रहोस भन्ने शुभकामना दिए ।
आगामी कार्यकालको लागि आफुले नेपाल उद्योग बाणिज्य संघको नेतृत्व गर्ने भएकाले धादिङ उद्योग बाणिज्य संघसंग मिलेर धादिङको आथिृक विकास, पर्टयन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको समेत श्रेष्ठले सुनाए ।
उनले भने, ‘धादिङ उद्योग बाणिज्य संघले स्वदेशी वस्तु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न के के गर्न सक्छ?, यस जिल्लामा भएको खनिजजन्य पदार्थहरुलाई उपयोग गर्ने के कस्ता नीति योजनाहरु बनाउन सकिन्छ?, त्यसमा जिल्लाको संघले सम्भाब्यता अध्ययन गरी ठोस कार्ययोजना बनाओस, महासंघ र हामीहरु हातमा हात मिलाएर काम गर्न तयार छौं ।’
जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने बताउदै श्रेष्ठले भने, ‘तपाइ सवै उद्योगी ब्यवसायीहरु एक भएर जतिसक्दो छिटो बुढीगण्डकी आयोजना बनाउन दवावमुलक कार्यक्रम गर्नुहोस त्यसमा पनि नेपाल उद्योग बाणिज्य संघले साथ दिने छ ।’
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि, जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भएपनि नीतिनिर्माण गर्ने तहमा बसेका ब्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले ब्यवसायीहरु पलायन भइरहेको बताए ।
विगत १० वर्षपहिले ढुङगा गिटि र बालुवाको क्षेत्रमा जति ब्यवसाय हुन्थ्यो, अहिले त्यो छैन । डल्लाकोटीले भने, ‘ब्यवसायीलाइ हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा यस क्षेत्रको ब्यवसाय अन्यत्रै (मेलम्ची) सरेको छ । पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु छन् ।’
संस्थाका महासचिव तिलक सिंखडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपाल उद्योग बाणिज्य संघले सहकार्य गर्ने बातावरण सिर्जना होस भन्ने धारणा राखेका थिए ।
धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने बताउदै भण्डारीले नेपाल उद्योग बाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने बातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन समेत आग्रह गरेका थिए ।
Photo : Manish Shrestha/Journalist