Weather : 13.12° Celsius Kathmandu
धादिङ: 'लोक संस्कृति प्रवर्धनको सार : पहिचान, पर्यटन र समृद्धिको मूल आधार’' भन्ने नारा सहित धादिङमा लोक साँस्कृतिक महोत्सव हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव माघको १० गते सुरु भइ २० गते समापन हुने छ । शनिवार धादिङवेशीमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराइएको हो ।
धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए ।
कलाकारहरुको प्रतिभा प्रदर्शन, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि महोत्सवले सहयोग पुर्याउने संयोजक कोइरालाले बताए ।
महोत्सवमा अन्तरपालिका लोक दोहोरी प्रतियोगिता प्रमुख आकर्षण हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ । महोत्सवमा एक सय वटा स्टल रहनेछ । एक लाख दर्शकले अवलोकन गर्ने र तीन करोड बराबरको आर्थिक कारोबार हुने आंकलन गरिएको छ ।
महोत्सव अवधिभर मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् ।
महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्यका साथ लोक साँस्कृति महोत्सव आयोजना गरिएको गैरेले जानकारी दिइन् ।