Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वको समयमा बजारमा धेरै सामान खरिद गर्ने तथा उपभोक्ता ठगिने जोखिमलाई ध्यानमा राखेर जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको छ ।
अनुगमनका क्रममा बुधबार पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित होटल, पसल, कोल्ड स्टोर्स तथा सप्लायर्सहरूलाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समिति संयोजक युवराज अर्यालले बताउनुभयो ।
उहाँका अनुसार श्री न्यु नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई रु.२० हजार र होटेल राजधानी फास्टफुड एण्ड रेस्टुरेन्टलाई रु.५० हजार जरिवाना गरिएको छ । यसैगरि बिहिबार धादिङबेसीको ५ ओटा खाद्यान्न पसलहरुको अनुगमन गरि १ पसललाई जरिवाना गरेको छ ।
सापकोटा किराना पसललाई ५ हजार जरिवाना गरि म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको संयोजक अर्यालले बताउनुभयो। कारबाहीमा परेका होटलहरूले निर्धारित मूल्यभन्दा बढी रकम लिएको सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको अर्यालले बताउनुभयो।
जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको अनुगमन समिति संयोजक अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद सकिएको सामाग्री विक्रि गरिरहेको, म्याद सकिएका खाद्यान्न सामाग्रि पसलमा राखेर विक्रि गरने, खराब खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेको छ । चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको छ ।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेको जिल्ला अनुगमन समितिका सदस्य सचिव मेघनाथ न्यौपानेले बताउनुभयो ।