Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङ गजुरी गाउँपालिका–२ चामबासका पहिरो पीडितहरु पाँच वर्षदेखि त्रिपालमुनी नै बास बस्न बाध्य छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका हुन्।
सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै पहिरो पीडितहरुले वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर सुरक्षित ठाउँमा सर्ने आश्वासन मात्रै पाएको पीडितहरुको गुनासो छ ।
शुक्रबार मात्रै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई सुरक्षित ठाउँमा बस्ति स्थानान्तरण गरिदिनुपर्ने, जिविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाइदिनु पर्ने र महिलाहरुलाई सीप सहित साना उद्यम सञ्चालन गर्ने व्यवस्था मिलाइदिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउदै पहिरो पीडित पञ्चमायाँ तामाङले भन्नुभयो,‘हावा हुरी र पानी आउँदा ठूला मान्छेहरु जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने रु एउटा टेन्टमा ६/७ जनासम्मको परिवार कसरी बस्नु,अव त बर्खा लाग्यो झनै गाह्रो हुन्छ।’ पहिले कै बस्तीमा बस्न पनि हुदैन भन्नु हुन्छ अनि अन्त जाने ठाउँ छैन, च्यातिएकै त्रिपालमा वर्खा कट्ला र ? हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारी ज्यु ।’
अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरेपनि सबैबाट आश्वासन मात्रै पाएको र अहिले नयाँ सिडियोले केही गरिदिनुहुन्छ की भन्ने आश लिएर प्रशासन आएको पहिरो विस्थापित सानुमाया तामाङले बताउनुभयो ।
२०७५ सालमा बस्तिमा धाँजा फाट्यो । २०७६ सालमा वर्षाका कारण जमिन भासिएर धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । २१ परिवार विस्थापित भए ।
त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बाह्रबिसेमा बस्दै आएका छन् । पाँच वर्षदेखि टेन्टमा रातदिन विताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन ।
यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । आशैआशमा कठिनले पाँच वर्ष विताए । २१ घरपरिवारका ९२ जना कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् ।
अस्थाई बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ । अब वर्षातको समय दुइ मुठी सास कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको विशु तामाङ बताउनुहुन्छ ।
ज्ञापन पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बस्ति स्थानान्तरण गर्न यहि आर्थिक वर्षमा काम सुुरु गरिने बताउनुभयो।
वर्षौदेखि बस्दै आएको थातथलोे पहिरोका कारण बस्न योग्य नभएको भुगर्वविदहरुले बताएका छन् । तर बस्ति स्थानान्तरण नहुदा घर न घाटको बनेको पहिरो पीडितहरु बताउँछन् ।