धादिङ स्पेशल / नीलकण्ठ / फिचर / नेपाल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / फिचर / नेपाल / गाउँ-समाज

प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउन परेको श्री ५ को बायुगुठी समस्या के हो ?

धादिङ र गोरखाका वायु गुठि पिडितद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता, समस्या समानका लागि कार्यदल बनाउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउन परेको श्री ५ को बायुगुठी समस्या के हो  ?

काठमाण्डौ : धादिङ र गोरखाका श्री ५ को बायुगुठी पिडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् ।

लामो समयअघि देखि समस्या समाधानका लागि ज्ञापनपत्र, ध्यानाकर्षण र शान्तिपुर्ण आन्दोलन गरिरहेपनि आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै फागुन १५ गतेदेखि अनिश्चितकालिन मालपोत बन्द हड्तालको घोषणा गरेको पिडितहरुले आन्दोलनको पुर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरका हुन् ।

धादिङ क्षेत्र नं १ का सांसद एवं बागमती प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, क्षेत्र नं २ का साँसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगाना र उपमेयर दीपक विश्वकर्मा लगायत गोरखाका जनप्रतिनिधिहरु तथा दुवै जिल्लाका विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि सम्मिलित संघर्ष समितिको टोलीले प्रधामन्त्री प्रचण्डसंग भेटवार्ता गरि बायुगुठीको समस्याले स्थानीय जनताले पाएको दुःख र त्यसबाट उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटवार्ताका क्रममा प्रधामन्त्री प्रचण्डले फागुन १० गतेको मन्त्रीपरिषद वैठकबाट समस्या समाधानका लागि कार्यदल बनाउने आश्वासन दिएका छन् । कार्यदलमा संघर्ष समितिको सदस्य पनि प्रतिनिधि रहने र त्यसले दिएको सुझावका आधारमा चालु संसदबाटै श्री ५ को वायुगुठी समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएको भेटवार्तामा सहभागी नेपाली काँग्रेस धादिङका सहसचिव एवं सांसद रामनाथ अधिकारीका स्वकिय सचिव नवराज तिमल्सेनाले जानकारी दिए । 

के हो श्री ५ को बायुगुठी समस्या 

धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका करिव ४५ सय रोपनी जग्गाको श्रेस्ता राजाको शाशनकाल अघि देखि नै श्री ५ को बायुगठीको नाममा रहेको थियो । बायुगुठीको नाममा रहेपनि बायुगुठी उल्लेख गरेर जग्गाधनीहरुलाइ लालपुर्जा पनि दिइएको थियो ।
बुढीगण्डकी आयोजनाको डुवानको क्षतिपुर्ति दिने बेलामा त्यो जग्गाले समस्या निम्त्यायो र स्थानीय आन्दोलित बने । त्यस अघि पनि स्थानीयले आफ्नो जग्गाबाट श्री ५ को बायुगुठी हटाउन पटक पटक आन्दोलन गरेका थिए ।

तर स्थानीयले उठाएका मागहरुको समस्या समाधान गर्नु त परको कुरा सरकारले नै उल्टै जग्गाधनीबाटै नाम हटाइदिएपछि ज्यामरुङ र नीलकण्ठका स्थानीयहरु यतिबेला आक्रोशित बनेका छन् । आफ्नो पिता पुर्खाको पालादेखी भोगचलन गदै र लालपुर्जा श्रेस्ता कायम हुँदै आएको जग्गा २०७४ सालदेखि सरकारले गुठीको नाममा कायम गरिदिएपछि पहिले जग्गाधनी भएका स्थानीयहरु अहिले जग्गाविहीन भएका हुन् ।

विगत देखि नै श्री ५ को बायुगुठीको नाममा बसोबास गर्दै आएका उक्त क्षेत्रका स्थानीयहरु जग्गाको नापी हुँदाको बखत देखि नै जग्गाधनी प्रमाणपुर्जामा श्री ५ को बायुगुठी उल्लेख गरिएपनि पुर्ण स्वामित्व कायम रहेको थियो । सरकारलाइ नियमित मालपोत कर पनि बुझाइरहेकै अवस्थामा २०७४ सालदेखि भने श्री ५ को बायुगुठीलाइ जग्गाधनी बनाइ स्थानीयहरुलाइ मोही कायम गरिदिएपछि स्थानीयहरुको जग्गा माथीको अधिकार खोसिएको हो ।

समस्या समाधान लागि सरकारको गुहार माग्दा सरकारले झनै पीडा थपिदिएको गुठी जग्गा समस्या समाधान संघर्ष समितिका अध्यक्ष इश्वरी लंसालले बताए । पहिलो जग्गाधनी कायम भएका स्थानीयहरुको कानुनी रुपमा हकवालाको अधिकार खोसिएपछि सुकम्वासी बन्न परेको, कारोवार बेचविखन ठप्प भएको, पुस्ता हस्तान्तरण रोकिएकाले विभिन्न घरायसी र पारिवारिक समम्या उत्पन्न भएको लंसालले बताए ।

बाजे बुवाको पालामा नम्वरी भएको जग्गा नातिको पालामा गुठीको नाममा लगेको भन्दै स्थानीयहरुले संघर्ष समिति बनाएर लामो समयअघिदेखि आन्दोलनका कार्यक्रम गरिरहेका छन् । उक्त क्षेत्रका स्थानीयहरुको मागलाइ सुनुवाइ गर्नेतर्फ कसैले पनि चासो नदेखाएको भन्दै स्थानीयहरुले यसअघि पटक पटक मालपोत कार्यलय घेराउ गरेका छन् ।

स्थानीयहरुले मालपोत विभागसम्म पुगेर गुनासो गरेपछि मालपोत विभागले बायुगुठी हटाउन नसकेपनि २०७४ अघिकै अवस्था लैजाने प्रतिवद्धता जनाएको थियो तर जिल्ला मालपोतले कुनैपनि काम नगरेको लंसालले बताए । गुठी सस्थानले २०७६ बैशाख ११ गते मालपोत कार्यलयलाइ पत्र लेख्दै साविकको गुठी नम्वरी रैतान जग्गालाइ कानुन बमोजिम रैतान नम्वरी गरि जग्गाधनी प्रमाण पुर्जा दिन र जग्गाधनी महलमा ब्यक्तिकै नाम भएको श्रेस्ता पुर्ववत कायम गर्न अनुरोध गरेको थियो ।

गुठी सस्थानका तत्कालिन उपप्रशासक जय प्रसाद रेग्मीले गुठी रैतान जग्गा रैकर जग्गा सरहको हक हैसियत हुने भएकाले यस्ता जग्गा धितोबन्धक राख्न हक हस्तान्तरण गर्न मिल्ने समेत बताएको थियो । तर मालपोत कार्यलय धादिङले आवश्यक काम नगरिदिँदा आफुहरुलाइ ठुलो समस्या परेको ज्यामरुङका स्थानीय ज्ञान नारायण श्रेष्ठले बताए ।

उनले भने, ‘तत्कालिन ज्यामरुङ दरवारका शाह बंसिय गुठीयारहरुले जालझेलपुर्ण तरिकाले गुठीको जग्गा नम्वरी बनाइ अन्य सोझा सिधा स्थानीयको जग्गालाइ बायुगुठीको बनाइदिएका हुन्, अहिलेको यो समस्या समाधान गर्दा त्यो बेला देखि नै समस्या अनुसन्धान हुनु आवश्यक छ ।’

गुठी सस्थानले २०७६ बैशाखमा मालपोत कार्यलय धादिङलाइ पठाएको पत्रमा धादिङ जिल्लाभर रहेका बायुदेवताको नामा रहेको गुठी जग्गाहरुको लगत संकलन गरि पठाउन भनेको भएपनि कति रोपनी जग्गाहरु बायुदेवताको नामा रहेको छ भन्ने विषयमा जिल्ला मालपोत धादिङले भने कुनै तथ्याङ्क नै निकाल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल