Weather : 8.5° Celsius Kathmandu
धादिङ : उत्तरी धादिङको ४ वटा पालिका जोड्ने मुख्य मार्ग किन्ताङफेदीस्थित किन्ताङ खोलामा बेलीब्रिज निर्माण थालिएको छ ।
खनियाबास गाउँपालिकामा पर्ने किन्ताङफेदीमा ३९.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको बेलिब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ।अहिले पुलको दायाँबायाँको जिप/पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको र दुई महिनाभित्र सम्पन्न हुने अध्यक्ष तामाङले बताउनुभयो ।
पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उहाँको भनाई छ । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्गमा सडक खन्न सुरु गरेको करिब चार दशकपछि पुल बन्न लागेको हो ।
यो पुलले रुवीभ्याली, गंगाजमुना, खनीयाबास र नेत्रावती डबजोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ ।पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेको थियो।
बेलिब्रिज बन्ने भएपछी स्थानीय खुसी भएका छन्।