Weather : 20.12° Celsius Kathmandu
धादिङ : ५९ औं राष्ट्रिय बालदिवसको अवसर पारी धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले थ्रिफ्ट कार्यको थालनी गरेको छ ।
थ्रिफ्ट भनेको मानिस मितव्ययी हुनु भन्ने अर्थ लाग्छ । आफूले लगाउँदै गरेका लुगाहरू आफ्नो ज्यानलाई सानो हुन थालेपछि उक्त लुगा फाल्ने या सिरक, डसना बनाउनुको सट्टा ठीक हुने ज्यानलाई सहयोग गर्नु पनि थ्रिफ्ट हो ।
विद्यालयमा धेरै गरीब र असहाय विद्यार्थी अध्ययनरत रहेको र उनीहरुलाई ज्यान राम्रोसँग ढाक्ने लुगा नहुँदा अध्ययन लगाएत अन्य विविध पक्षमा असर परेको कारणले गर्दा यो कार्यको थालनी गरिएको बालमन्दिर माद्यमिक विद्यालयका प्रधानाध्यापक केवि राउतले जानकारी दिए ।
सवैभन्दा पहिले कक्षा ८ का विद्यार्थी भाइ बहिनीहरूले आफूलाई लगाउन सानो भएको तर लगाउन मिल्ने २३ जोर विद्यालय पोशाक विद्यालयमा हस्तान्तरण गरी सो कार्यको सुरुवात गरिएको थियो ।
अवदेखि हरेक शनिवार विहान ८ बजे थ्रिफ्ट कार्यक्रम संचालन गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत ९ सय ८६ जना विद्यार्थी र ३० जना शिक्षक कर्मचारी अनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुमध्ये बाट आफूलाई सानो या ठूलो भएको लुगा धोई पखाली गरी आइरन गरेर आईतबार देखि शुक्रबार सम्म विद्यालय प्रशासनमा बुझाउने र विद्यालय प्रशासनले शनिबार बिहान ८ बजे हाट बजार जस्तै गरी उक्त संकलित कपडा सबैको पहुँचमा हुने गरी ह्याङ्गरमा झुण्ड्याएर राख्ने प्रधानाध्यापक राउतले बताए ।
यसरी राखिएको लुगा जसलाइ आवश्यक पर्छ उसैलाइ निशुल्क लैजान पाउने ब्यवस्था गरिएको पनि राउतले जानकारी दिए ।
हाल विद्यार्थी भाइबहिनीहरुले सुरु गरेको यो अभियानमा अभिभावक र बाहिरी ब्यक्तिहरुले पनि आफ्नो सरसामानहरु सहयोग गरेर सहभागिता जनाउन सकिने विद्यालयले जनाएको छ ।
के हो थ्रिफ्ट ?
आफूलाई सानो या ठूलो भएको लुगा, आफूले प्रयोग गरेर बढी भएको पैसा, अन्न आदि अन्य व्यक्तिलाई निशुल्क या कम पैसामा दिनु नै थ्रिफ्ट हो । यो अवधारणा १९ औं शताब्दीमा अमेरिकाबाट सुरुवात भएको हो । अमेरिकी आर्मी हरुले बजारको भन्दा अति कम मूल्यमा आफूलाई अनावश्यक कपडा अन्य व्यक्तिलाई बिक्री गरी सो कार्यको सुरुवात गरेका थिए ।