धादिङ स्पेशल / धुनीवेशी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / गाउँ-समाज

धादिङ : मध्यबर्खामा पनि काकाकुल, गुर्दुमका जनतालाई खानेपानी थाप्न छुट्टै नियम

धादिङ : मध्यबर्खामा पनि काकाकुल, गुर्दुमका जनतालाई खानेपानी थाप्न छुट्टै नियम

धादिङ : धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ। यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ। पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ।

यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ। गाउँभरिमा एउटै मात्र धारो छ। बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन्। टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन्। 

एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ। जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ। 

स्थानीय शेरबहादुर तामाङले भने “सबैले चार,चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ।” उनका अनुसार अहिले पनि खानेपानी पुगेको छैन। 

जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु स्थानीयको बाध्यता हो। भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ। 

पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन्। शेरबहादुरले भने, “मध्यबर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो। पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ।”

गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ। “भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन। धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइँदैन”, उनले भने, “खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ। 

बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन।” मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताए।

स्थानीय कविता तामाङका अनुुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ। “गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ। दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ”, उनले भनिन्, “पाँच हजार लिटर पानीले ६८ घरपरिवारले प्यास मेटाइरहेका छन्।” 

एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उनले बताइन्। माइक्रो हाइड्रो पावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताइन्। 

गाउँमा बिजुली बिग्रिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुईरतीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ। “त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो”, उनले दुख सुनाइन्।

                                                                                                                                        साभार : थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल