Weather : 16.12° Celsius Kathmandu
काठमाडौं : करिब ७ सय मेट्रिक टन नेपाली गोलभेडा भारत निर्यात भएको छ। भारतमा गोलभेडाको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएपछि भारतले नेपालबाट आयात खोलेको थियो।
त्यसयता हालसम्म ७ सय मेट्रिक टन गोलभेडा विभिन्न नाकाहरुबाट निर्यात भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीका अनुसार गोलभेडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासी सहजीकरण गर्न नेपालले पटक–पटक अनुरोध गर्दै आएको थियो।
तर भारतले नेपाली गोलभेडा लैजान थाले पनि प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेको छैन। भारतले आवश्यकता पूर्ति गर्न तत्कालका लागि मात्रै नेपालबाट गोलभेडा लगेको प्रवक्ता सिवाकोटीले थाहाखबरलाई जानकारी दिइन्।
उनका अनुसार भारतले सन् २०२३ का लागि आगामी अक्टोबर ३१ सम्म मात्रै नेपालबाट गोलभेडा लैजाने अनौपचारिक जानकारी आएको छ। तर मन्त्रालयले निर्यातलाई निरन्तरता दिने प्रयास गरिरहेको प्रवक्ता शिवाकोटीले बताइन्।
भारतमा गोलभेडा निर्यात हुँदा नेपालमा भने यसको मूल्य अकासिएको छ। उपभोक्ता १ सयदेखि १२० रुपैयाँसम्म थोक मूल्यमा गोलभेडा किनेर खान बाध्य छन्। आज कालीमाटी तरकारी बजारमा भारतीय गोलभेडाको थोक मूल्य न्यूनतम ९० र अधिकतम १ सय रुपैयाँ तोकिएको छ।
केही दिनअघि रोकिएको भारतीय प्याज आयात भने अहिले निर्वाध रुममा भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए।