Weather : 14.12° Celsius Kathmandu
धादिङ : धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको छ।
थप ४५ जना पुरुष र ३८ जना महिला गरी ८३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा ७४ जना, ज्वालामुखी गाउँपालिकामा ३ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, गंगाजमुना गाउँपालिकामा १ जना, रुवभ्यालि गाउँपालिकामा १ जना र गजुरी गांपालिकामा १ जना संक्रमित रहेका छन् ।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार २ सय ८ पुगेको छ । जसमा पुरुष ६ सय ३४, महिला ५ सय ७४ जना छन् । हालसम्मको कुल संक्रमितमध्ये १ हजार ५२ जना निलकण्ठ नगरपालिकाका मात्रै छन् ।
धादिङ तेस्रो नम्बरमा :- देशभर सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ ।यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।
सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ । धादिङ तेस्रो नम्बरमा रहेको छ ।
सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार १२५ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।
संक्रमणका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ ।
लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको र यसैगरी डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने महाशाखाले जनाएको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने र ती फुलबाट लार्भा निस्कन्छन् । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि आग्रह गरेको छ।
सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।