Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा डेंगुको संक्रमण फैलिँदै गएको छ। बर्खा सुरु भएसँगै डेँगु संक्रमण फैलिएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको छ ।
चालु आर्थिक बर्षको साउन १ यता हालसम्म धादिङ जिल्लाका मात्रै २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको छ। आज बुधबार मात्रै १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकाका ७ जना पुरुष र ६ जना महिला गरी १३ जनामा संक्रमण भएको छ । योसँगै जिल्लाका १ हजार ४२४ जना पुरुष र १ हजार २४२ महिला गरी कुल २ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७०४ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८१, ज्वालामुखीमा १०२, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९२, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १०, नेत्रावती डवजोङमा १५ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाको कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ९ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । यो तथ्याङ्क २०७९ साउन १ देखी २०८० असार १२ गतेसम्मको हो ।