Weather : 25.12° Celsius Kathmandu
भुमिरमण नेपाल बन र बातावरण संरक्षण क्षेत्रमा चर्चित नाम हो । संरक्षणको क्षेत्रमा निकै नै परिचित उनी नेपाल सरकारको जागिरे जीवनकाल सुरु गरेदेखि नै बन र बातावरण संरक्षणको लागि अभियान नै बनाएर संलग्न रहिरहे । कुनै समय धादिङ जिल्लाका अधिकांश सामुदायिक बनका पाखा पखेरा ढुङगाहरु भुमिरमणले लेखेका संरक्षणका नाराहरुले भरिएका हुन्थे ।
बन र बातावरण संरक्षणको लागि अभियान चलाएर हिड्दा बन÷बमठ तस्करहरुबाट दुवै हात काटिदिने धम्की सम्म खेपेका नेपाल कुनै बेला पागलको अभिनय गरेर र पानी घट्टमा पसेर पीठो दलेर समेत ज्यान जोगाएका थिए । भुमिरमण नेपाललाइ जिल्ला बन कार्यालय धादिङले उनको संरक्षण अभियानमा साथ दिदै 'हरित स्वयंसेवक'को रुपमा परिचालित गर्ने गरेको छ । उनै भुमीरमण नेपालसंग बन र बातावरण क्षेत्रको संरक्षणमा पछिल्लो पुस्ताको सक्रियताका विषयमा छोटो कुराकानी गरिएको छ । प्रस्तुत छ उहाँसंगको कुराकानी :
तपाइ बनजंगल जोगाउने र पर्यावरण जोगाउने अभियान लिएर बर्षौ हिड्नुभयो । खासमा बनजंगलको जगेर्ना किन गर्नुपर्ने रहेछ ?
खासमा मैले बनजंगलको संरक्षण गर्न र बृक्षारोपण अभियान सुरु गर्नुको पहिलो उद्येश्ये खाली ठाउँ र सुख्खा ठाउँलाइ हराभरा बनाउनु थियो । डढेलो लाग्न नदिने लुङगुरा सेउला जोगाउने नै प्रमुख उद्येश्य थियो । जुन दिन देखि म संरक्षणमा लागे त्यस बेला देखि थाहा भयो बन र मानिसबीच नङ र मासुको जस्तै सम्वन्ध रहेछ । बातावरण स्वच्छ र सफा राख्न, पर्यावरणीय चक्रलाइ तन्दुरुस्त राख्न र गाउँ टोल समुदाय स्वच्छ र हराभरा राख्नको लागि बन जोगाउनु अनिवार्य छ । ओजोन तह जोगाउन बन जोगाउनु अनिवार्य छ । सवै भन्दा महत्वपुर्ण कुरा त जीवनका लागि बन हो, बन भए मानिस लगायत जुनसुकै जीवजन्तुको पनि अस्तित्व रहन्छ, बन विना जीवनको कल्पना गर्न सकिदैन । त्यसैले यसको संरक्षणमा सवैले चासो राख्नुपर्छ ।
खासमा बनजंगल जोगाउने संरक्षण गर्ने, बृक्षारोपण गर्ने भन्ने कुरा कुनै एक जनाले गरेर हुने होइन, समुदाय नै सक्रिय हुनुपर्छ जस्तो लाग्छ । तपाइ जागिरे जीवनदेखि नै बन संरक्षणको नारा लिएर धादिङ जिल्ला मात्रै होइन अन्यत्र जिल्लाहरुमा पनि पुग्नुभएको छ । यसरी विभिन्न गाउँ टोल बस्ती र जिल्लाहरुमा पुग्दा त्यहाँका सर्वसाधारण बनजंगल प्रतिको चासो, बढ्दो प्रदुषणप्रतिको चिन्ता कत्तिको पाउनु भएको छ ?
तपाइले ठीक भन्नु भयो, बनजंगल जोगाउने संरक्षण गर्ने, बृक्षारोपण गर्ने भन्ने कुरा कुनै एक जनाले गरेर हुने होइन, समुदाय नै सक्रिय हुनुपर्छ । त्यसकारण मैले बन संरक्षण र सचेतनाको लागि जहाँ पुगे त्यहा समुदाय स्तरमा समुह समिति गठन गरेर त्यस समुदायलाइ सक्रिय गराएँ । २०३६÷२०३७ सालदेखि गाउँ गाउँमा बनसमुह बनाएर संरक्षणका लागि पहल सुरु गरेको थिए । पहिले पहिले समुदायलाइ बनको चिन्ता थुप्रै थियो । विस्तारै यो चिन्ता कम हुदै जान थालेको महशुस गरेको छु । आजकाल बनसंम्वन्धी छलफल् भेलाहरुमा मान्छेहरु आउनै छाडेको पाउन थालेको छु । अनि बन नियमन गर्ने सरकारी निकालयको पनि काम गराइ उही पुरानै पारामा छ, नयाँ मोडल र नयाँ तरिकाहरु केही आउन सकेको छैन ।
तपाइले भन्न खोज्नुभएको सरकारी निकायले काम गरेनन् भन्ने हो ?
हैन हैन काम गरेनन् भन्ने होइन, काम गर्ने तौरतरिका चै पुरानै भयो भनेको हो । जस्तो मैले पैला समुह समुहबाट बन संंरक्षणका गतिविधिहरु गर्दा आफुले बोलेको मात्रै सुन्दैनन् भनेर विगुल फुक्दै बन संरक्षणका नाराहरु भन्दै गर्न थाले । एउटा बन समुहले बन संरक्षणको लागि गरेका गतिविधिहरु भित्ते पत्रिका मार्फत प्रकाशन गर्ने, अर्को समुहमा लगेर देखाउने उनीहरुलाइ जागरुक बनाउन गर्दथे । एकोहोरो बोलेर मात्रै सुन्दैनन भन्ने लागेर संरक्षणका कुरा सुनाउदा नयाँ नयाँ तरिक अपनाइन्थो । बन संरक्षण नारा लेख्दा गीतजस्तो बनाउने गरिन्थ्यो ।
जस्तै खिरो होस बाङ्गो होस नाङगो नहोस,
उत्तम अति बनस्पति जोगाउँ मिलेर
मेचीकाली नभै खाली जोगाउँ मिलेर.......
जस्ता नाराहरु ठाउँ ठाउँमा लेख्ने, भित्तेलेखन गर्ने पर्चा बनाएर बाड्ने गरिन्थ्यो । तर अहिले त्यो जमाना रहेन । प्रविधि र संचारको युग आइसकेको छ । बन संरक्षणका कुराहरु पनि आजकाल युग सुहाउँदा र युवापुस्ता लक्षित कार्यक्रमहरु ल्याउनु पर्छ । खाली डढेलो लाग्ने सिजनमा एक साता मात्रै संरक्षणका कुरा गरेर मात्रै सरकारका कर्तब्य सकियो भन्ने हैन । उदाहरण नै हेर्नुस न, सरकारी निकायले बनजंगलमा डढेलो लाग्न नदिनको लागि हरेक वर्ष चैत बैशाखामा डढेलो नियन्त्रण कार्यक्रमलाइ अभियानकै रुममा चलाउछ, अनि दिनहुँ बनमा डढेलो लागिरहेकै हुन्छ । अभियानले बन संक्षणमा एकछेउको पनि टेवा पुगेको जस्तो लाग्दैन । यस्तै यस्तै काम गर्ने तरिका चै परिवर्तन गरेर बर्षभरि नै संरक्षणका कामहरु गरिरहन मिल्ने गरी योजना बनाउन पर्छ भन्न खोजेको हो ।
संरक्षण अभियानका तपाइका पुराना यात्रा सुन्दा पहिलेको तुलनामा मान्छेहरुलाइ बन संरक्षणमा चासो अलि कम भएको हो ?
हो, समुदायका मान्छेहरुलाइ मात्रै होइन, बन र यससंग काम गर्ने संघसस्थाहरुको पनि चासो कम भएको हो भन्ने लाग्छ । विभिन्न गैरसरकारी सस्थाहरु वर्षको एक दिन दिवसको अवसर पारेर बोल्ने गर्छन, सरकारी निकायहरु विरालो बाँधेर सराद्धे गरेको भनेजस्तै हरेक वर्ष एउटै ढर्राका कार्यक्रमहरु मात्रै गरिरहेका हुन्छन् । समुदाय तहमा पनि गणतन्त्रको स्थापना पश्चात संरक्षणका कुराहरु प्राथमिकतामा नपरेको हो भन्ने लाग्छ । पहिले मान्छेलाइ निकै चासो र चिन्ता भएको पाएको थिए । गणतन्त्र पश्चात यो चासो र चिन्तामा कमी आउदै गरको पक्कै हो । धेरै ठाउँमा बन फडानी भएको, तस्करी भएको भन्ने समाचार गणतन्त्रको स्थापना भएपश्चातको समयमा अलि बढी आउने गरेको छ । समुदायलाइ चासो र चिन्ता हुने हो कुनैपनि बनका काठतस्कर पस्न त के वरिवरि पनि पुग्न पाउँदैन । गणतन्त्र पश्चात गाउँ गाउँमा विभिन्न वित्तिय सस्था र सहकारीहरु पनि बढ्न थाले, समुदायका मान्छेहरु पहिले संरक्षणका कुरा गर्न वैठक बस्थे पनि अव ऋणधनका कुरा गर्न मात्रै वैठक बस्न थाले । यतिसम्म पनि लघुवित्त र सहकारीको वैठकमा मात्रै महिनाको १०–१५ दिन ब्यत्तित हुन थालेपछि समुदाय स्तरमा बनाइएका संरक्षण समुहहरु अलि कम सक्रिय हुन थालेका हुन् ।
संरक्षणको लागि समुदायमा चासो र चिन्ता बढाउन के गर्नुपर्छ भन्ने लाग्छ ?
बनजंगलको आवश्यकता र महत्वका विषयमा बालबालिका उमेरदेखि नै ज्ञान भर्नुपर्छ । बालमस्तिष्कमा संरक्षणका कुरा घुसाउन सकियो भने त्यो मान्छेले कहिल्यै बन विनासमा संलग्न हुँदैन । ६÷७ कक्षादेखि नै संरक्षणको महत्व र आवश्यकता बारेमा बालबालिकाहरुलाइ पढाउनु पर्छ । जस्तो म पहिले पहिले बन समुह समुह बनाएर बन संरक्षणको नारा लिएर हिड्दा मलाइ विद्यालयका शिक्षकहरुले धेरै साथ दिनुहून्थ्यो, विद्यालयमा गीत कविता कार्यक्रम हुँदा संरक्षणसंग सम्वन्धित हु्न्थ्यो, देउसी खेल्दा, तीज कार्यक्रम जताततै बनसंरक्षण र बृक्षारोपणको कुराले ठाउँ पाउथ्यो । आजकाल दिवस विशेषमा मात्रै त्यस्ता गतिविधि हुन्छन् । यो संरक्षण भन्ने कुरा कुनै एक दिन दिवसको रुपमा मात्रै मनाएर होइन ३६५ दिन नै दिवसको रुपमा मनाएर काम गर्नुपर्छ । जस्का लागि समुदाय, सरकार र गैरसरकारी निकाय सवैको हातेमालो हुनु जरुरी छ ।
तपाइ धेरै समय अघि देखि एक्लै बन जोगाउनुपर्छ भनेर हिड्नुभयो । सरकारी जागिर नै धरापमा राखेर संरक्षणका लागि हिड्नुभयो । अहिले बुढेशकाल लाग्दैछ, अहिले सोचर ल्याउँदा म एक्लै किन त्यसरी हिडेछु भन्ने लाग्दैन ?
मान्छेलाइ सवैभन्दा ठुलो कुरा आत्मसन्तुष्टी रहेछ । बनजंगल संरक्षणको कुरा गर्नको लागि एकैदिन म सल्यानकोट देखि हिडेर जोगीमाराको समुहमा पनि पुगेको छु । तलव बुझेको दिन इनामेल र रङ किनेर बनजंगलका ढुङगा र भित्ताहरुमा नाराहरु लेखेर हिनेको छु । कतिपय ठाउँमा तस्करहरुका कारण ज्यान नै जोखिममा पर्दा पागलको नाटक गरेर बाचेको पनि छु । यी सवै कुरा सम्झिदा संरक्षणको अभियानमा लाग्न झनै जोस जाँगर भरेर आउँछ । अझै संरक्षणको अभियानमा खटेर हिड्ने जागर आउँछ । यत्तिका वर्ष हिडियो अव जति बाचिन्छ त्यति वर्ष संरक्षणका कुरा गरिरहने छु । सुन्नेले सुन्छन्, नसुन्नले सुन्दैनन् । मेरो मनलाइ मेले गरेको कामले आनन्दित बनाउछ भने अरुका कुरा मैले किन सुन्नु ? अहिले एउटा भनाइ चर्चित छ नि, अहिले नगरे कहिले गर्ने मैले नगरे कस्ले गर्ने, हो त्यस्तै सोचेर सवैले आफ्नो ठाउँबाट लागपर्ने हो भने कोही पनि एक्लै हुदैन कसैलाइ पनि एक्लै छु भन्ने लाग्दैन ।
फोटो : गोमा थापा