Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङबेशीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको छ ।
सोमबार सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको आयोजना तथा स्वास्थ्य कार्यालय धादिङको व्यवस्थापनमा परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया विषयमा सरोकारवाला र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो ।
परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु,मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर कम गर्ने उद्धेश्यले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया आयोजना गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.नरेन्द्र कुमार झाले बताउनुभयो ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा।झा र स्वास्थ्य कार्यालयकै प.नि.अ.अनन्त प्रसाद शर्माले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जगाउन सञ्चार माध्यमको भुमिकाको वारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा परिवार नियोजन साधनको प्रयोगदर र परिवार योजनाका साधानको प्रयोग अवस्था,नेपालमा जन्मदरको अवस्थालगायतका वारेमा जानकारी दिइएको थियो ।
आफ्नो प्रस्तुतीका क्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा.झाले धादिङमा परिवार नियोजन तथा सुरक्षित मातृत्वमा सुधार आएको बताउनुभयो । उहाँले जिल्लाको स्वास्थ्य अवस्था सुधार्न पत्रकारको ठूलो सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सचेतनामूलक सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
धादिङमा चालु आर्थिक बर्षको बैशाखसम्म मातृ मृत्यु शुन्य रहेको उहाँले बताउनुभयो । तर यो आर्थिक बर्षमा ३ जना नवजात शिशुको मृत्यु,१३ जना प्रारम्भिक नवजात शिशुको मृत्यु र २३ जना शिशु मृत जन्मेको बताउनुभयो ।
त्यस्तै चालु आर्थिक बर्षमा जिल्लाभर २० बर्ष मुनिका ४६५ जना गर्भवती भएको, बैशाखसम्म स्वास्थ्यमा संस्थामा दर्ता भएअनुसार ४४ जनाले गर्भपतन गरेको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा.झाले बताउनुभयो ।
कार्यक्रममा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्र भण्डारीले धादिङ अस्पतालमा पनि सरदरमा ८० जनाको नर्मल डेलिभरि हुने गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा।झाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका प्रशासकिय अधिकृत अर्जुन सुवेदी, धादिङ अस्पतालका मेसु रुद्रमणी भण्डारी,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,जिल्लाका बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सरकारले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ भने सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा पुग्नका लागि नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य राखेको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र नवजात शिशुको मृत्युदर घटाउनुपर्दछ । सरकारले अहिले मातृ मृत्युदर प्रति लाखमा १५१ जना रहेकोमा दिगो विकास लक्ष्यअनुसार ७० जनामा झार्ने र नवजात शिशुको मृत्युदर प्रति हजारमा २१ रहेकोमा १२ जनामा झार्ने लक्ष्य लिइएको छ ।