Weather : 17.12° Celsius Kathmandu
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभञ्ज्याङका किसानहरु बाँदरविरुद्धमा आन्दोलनमा उत्रिएका छन् ।
बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। शुक्रबार बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
उनिहरुले कृषी मन्त्री राजिनामा दे, अन्नबालीको क्षतिपुर्ती दे, बाँझो बारीको कर तिर्दैनौ, बाँदरले खाएपछी हामी के खाने भन्ने लगाएतका नारा लगाएका थिए ।
किसानहरुले कृषी ज्ञान केन्द्र, डिभिजन वन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र नै बुझाएका छन् ।बाँदर बस्तीमा प्रवेश गरेर अन्नबालीमा क्षति गरेपछी स्थानीय समस्यामा परेका छन् ।
बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ कानबराज दुवाडीले बताउनुभयो । विगत १० बर्षदेखीदेखी नै यो समस्या भोग्दै आएको भन्दै उहाँले राज्यले यसको क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको दुवाडीको भनाई छ । बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई हुन नसकेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नं ९ कै तिल प्रसाद लम्सालले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गर्नुभयो ।
हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको लम्सालले बताउनुभयो ।