Weather : 29.35° Celsius Kathmandu
धादिङ : धादिङको बिभिन्न स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ । जिल्लाको थाक्रे,सिद्धलेक, ज्वालामुखी, गंगाजमुना लगाएतका पालिकामा लम्पी स्किनको महामारी फैलिएको छ ।
गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला÷पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा÷स्थान बाट अन्य वडा÷स्थानमा गाई भैंसीको ओसारपसार नगर्न÷नगराउन अनुरोध गरिरहेका छन् ।
विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको डा.सिलवालले बताउनुभयो ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ ।
&
सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सिलवालले बताउनुभयो ।यस्तो लक्षण देखिएमा नजिकैको पशु सेवा केन्द्रमा गएर प्राविधिक सल्लाह लिने,जैविक सुरक्षाका बिधि अपनाउने र रोगी पशुको ओसारपसारमा रोक लगाउन डा.सिलवालले आग्रह गर्नुभएको छ ।