Weather : 14.12° Celsius Kathmandu
धादिङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बिहिबार भएको भेला तथा अन्तरक्रिया कार्यक्रममा जनजाति पत्रकारहरुको हक अधिकारको लागि नीति तथा विधान संशोधन गर्ने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्ला भित्रका जनजाति पत्रकारहरुमा रहेका समस्या,समस्याहरुको समाधान,पत्रकारहरुको जिवन उकास्नको लागि आर्थिक अवस्थालाई कसरी मजबुत अनि सबल बनाउने, जातीय पहिचान, पत्रकारहरुको क्षमता वृद्धि र बिकासको लागि विभिन्न तालिमहरुको आयोजना गर्ने लगायतका बिषयहरुमा छलफल भएको थियो ।
छलफल गरिएका बिषयहरु केन्द्रिय कार्य समितिमा नीति तथा बिधान संशोधनको लागि पठाउने फोनिज जिल्ला शाखा धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो । श्रेष्ठले धादिङ जिल्लामा रहेका हरेक सन्चार गृहमा आवद्ध आदिवासी पत्रकारहरुलाई सदस्य वितरण तथा संगठित गर्दै आदिवासी जनजातिको अधिकार र क्षमता अभिवृद्धि गराउन योजनाबद्ध रुपमा कार्यक्रमहरु सान्चालन गर्ने बताउनुभयो।
उहाँले आदिवासी जनजाति पत्रकारहरुको हक सुनिश्चित गर्न गराउन सम्पुर्ण आदिवासी जनजाति पत्रकारहरु एक हुन समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्लाको विभिन्न संचार गृहमा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो ।