धादिङ स्पेशल / कला/साहित्य / संस्कृति/पर्यटन

गृहपृष्ठ धादिङ स्पेशल / कला/साहित्य / संस्कृति/पर्यटन

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा धादिङकी रीता थापामगर निर्विरोध निर्वाचित

धादिङ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौं केन्द्रिय महाधिवेशनबाट थापा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । 

केन्द्रिय निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाको विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी छन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघिदेखि तल्लीन थापा मगर यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँड सर्वसम्मत भएका छन् । सांगठानिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दिपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत भएका छन् ।

सात जनाको खुल्ला उपाध्यक्षमा पदमा भने १० जनाको उम्मेदवारी परेको छ । पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पुर्णकला विसी, शंकर विसी र तारापती सुवेदीको उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको महासचिव शिव हमाल सर्वसम्मत बनेका छन् । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठानिक), कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत भएकी छन् ।

त्यस्तै सातवटा प्रदेश मध्य भुगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने ३ जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुल्ला सचिव पदमा पनि पाँच जना र २ जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

केहिदिन अघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुल्ला उपाध्यक्ष, भुगोल सचिव तर्फ गण्डकी प्रदेश, खुल्ला सचिव, खुल्ला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् । 

यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । शुक्रबार राती नै मनोनयन दर्ता खुल्ला गर्ने कार्यतालिका भएपनि सर्वसम्मतको कसरतले हिजो दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुल्ला गरिएको थियो । सर्वसम्मत नभएका पदहरुको शनिबार बेलुका ९ बजेबाट मतदान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल