Weather : 13.24° Celsius Kathmandu
म्याग्दी : जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम– कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठकले समय तालिका बनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए।
एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।
सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावित बनेपछि समय तालिका बनाएको प्रजिअ पौडेलले बताए। निर्माण व्यवसायीले बेनी–जोमसोम– कोरला सडक आयोजनामार्फत प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्रगर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो।
सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए। ८५ जनामजदुरका साथै तीन वटा डोजर परिचालन गरिएको छ। दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ।
बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक २०५३ मामार्ग खुलेको थियो। यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो।
यो सडक म्याग्दीको बेनीनगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्छन्।