नीलकण्ठ / आर्थिक

गृहपृष्ठ नीलकण्ठ / आर्थिक

नीलकण्ठ नगरपालिका र ग्लोबल आइएमइ बैंकबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्न द्विपक्षीय साझेदारी

नीलकण्ठ नगरपालिका र ग्लोबल आइएमइ बैंकबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्न द्विपक्षीय साझेदारी

धादिङ : नीलकण्ठ नगरपालिका र ग्लोबल आइएमइ बैंकबीच सहुलियतपूर्ण कर्जा प्रबाह गर्ने सम्बन्धी द्विपक्षीय साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार धादिङ वेशीमा सम्पन्न भएको छ । साझेदारी पत्रमा नीलकण्ठ नगरपालिकाका तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकको तर्फबाट केन्द्रिय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नु भएको हो ।

नगरपालिकाबाट सञ्चालन भइरहेको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत प्रथम चरणको तालिम लिएका उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा व्याज अनुदानमा ऋण प्रवाह गरिने र सो कार्यको लागि ग्लोबल आइ.एम.इ बैंकसँग सहकार्य गरिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भयो । व्यवसाय सञ्चालन सम्बन्धी तालिम लिएका उद्यमीहरुको व्यवसायिक योजना बमोजिम नगरपालिकाको सिफारिसमा विना धितो २ लाख रुपैयाँसम्म र धितो राखि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण प्रवाह गरिने र नगरपालिकाले सोको ब्याजमा २ वर्षसम्मको लागि बढीमा ६ प्रतिशतसम्म अनुदान दिने नगर प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।

त्यस्तै सहुलियतपूर्ण कर्जालाई विशेष गरि कृषि तथा उत्पादनमुलक कार्यलाई प्रोत्साहन गर्ने कर्जाको रुपमा अगाडी बढाउने उद्देश्यका साथ सुरुवात गरिएको नगर उप-प्रमुख दीपक विश्वकर्माले बताउनु भयो । व्यवसायिक उद्देश्य राखि उद्यम सञ्चालन गरी आफ्नै गाउँ ठाउँमा केही गर्छु भन्ने नगरवासीहरुको प्रोत्साहन गरी लगानीमैत्री तथा उद्यममैत्री वातावरण सिर्जना गर्न व्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जाले सहयोग पुर्याउने उहाँले बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै बैंकका प्रमुख नायब कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नगरवासीहरुमा उद्यमशीताको भावना विकास गर्न, आय-आर्जनमुलक कार्यमा सहभागी गराउन र स्वरोजगारीको सिर्जना गर्न बैंकले लगानी गर्ने र सोको लागि नीलकण्ठ नगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय रहेको बताउनु भयो ।

विना धितो २ लाख र धितो सहित १५ लाखसम्मको सिमा रहेको कुरा स्मरण गराउँदै उहाँले आवश्यकता र क्षमता अनुसार कर्जा लिन उद्यमीहरुलाई सुझाव दिनुभयो । यो कर्जामा नगरपालिकाले   व्याज अनुदान मात्र दिने भएकाले तोकिएको समयभित्र साँवा चुक्ता गर्नुपर्ने र चुक्ता नगरे कालोसुचीमा परिने उहाँले जानकारी दिनु भयो ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप-प्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, बैंकका प्रमुख नायब कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, कृषि कर्जा प्रमुख चित्र कुमार चालिसे, डिजिटल बैंकिङ प्रबन्धक मणिन्द्रराज जोशी, नगरपालिकाका सल्लाहकार दीपक कोइराला, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरु, पत्रकार तथा उद्यमशिलता तालिम लिएका उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

तस्विरहरु : रोशन अविरल / टेलिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल