Weather : 14.12° Celsius Kathmandu
धादिङ : सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ ।
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ ।
निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ छ । आगामी वर्ष साउनमा अवधि सकिने भए पनि त्यतिबेलासम्म निर्माण पूरा हुन गाह्रो हुने देखिएको उहाँको भनाइ छ ।
पछिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण निर्माण नियमित रुपमा हुनसकेको थिएन । हाल अवधि थपबारे परामर्शदाताले अध्ययन गरिरहेको र विगतमा काम हुन नपाएको अवधिसमेत गरेर छ महिनाभन्दा बढी थप्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ ।
समयावधि थप्नका लागि ढिलाइ भएको कारण प्रमाणसहित हेर्नुपर्छ, उहाँले भन्नुभयो । उपनिर्देशक अधिकारीले हाल कार्यरत कम्पनीको काम भने सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँका अनुसार सुरुङको प्रगति ७० प्रतिशतभन्दा बढी पुगेको छ । मुख्य काम सुरुङ भएकाले त्यसमा र अरु सहायक काम पनि प्रगति राम्रो छ, उहाँले भन्नुभयो ।
दुई किलोमिटर ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्ग हालसम्म एक किमी सात सय ११ मिटर निर्माण सकिएको आयोजनाले जानकारी दिएको छ । पूर्वतर्फबाट आठ सय ३२ मिटर र पश्चिमतर्फबाट आठ सय ७८ मिटर निर्माण सकिएको छ ।