Weather : 13.24° Celsius Kathmandu
धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानी स्थित आहालेमा बृद्ध दम्पती मृत भेटिएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णु बहादुर आलेमगर र उनका श्रीमती निरमायाँ आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरुलाई सोमबार विहान करिब ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेको त्रिपुरा सुन्दरी गाउँपालिका–३ का वडा अध्यक्ष कमल आलेमगरले जानकारी दिए ।
‘विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ । निधारमा र दाहिने आँखामाथी चोट देखिन्छ । शरिरमा भने कपडा ओढिराखेको अवस्थामा छ’, घटनास्थल पुगेका वडा अध्यक्ष आलेमगरले भने, निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामी भित्र पसेका छैनौं ।’ घटनास्थल हेर्दा शंकास्पद बस्तुहरु केही नभेटिएको पनि घटना शङ्कास्पद देखिएकाे मगरले बताए ।
वडा अध्यक्ष आलेमगरका अनुसार घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए । एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको उनले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।