Weather : 14.12° Celsius Kathmandu
धादिङ : धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।
मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६९ हजार १ सय ६४ मत गणना भएको थियो । राष्टिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन । यो निर्वाचन क्षेत्रमा ३ हजार ३ सय ७३ मत बदर भएको छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।
२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसका अधिकारीसंग भारी मतअन्तरले पराजीत भएका छन् ।
रामनाथ अधिकारीको राजनितिक यात्रा
नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी काँग्रेस धादिङका पाका नेता हुन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ६ नेवारपानीमा जन्मिएका उनी २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहभर तरुण कांग्रेस थिए । यी दुई आन्दोलनमा सक्रिय उनले धेरै राजनीतिक अनुभव हासिल गरे ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा पटक–पटक ज्ल परेका अधिकारीलाई ६ वैशाख २०४५ मा प्रहरीले चारपाटा मुड्नेसम्मको ज्यादती ग¥यो । राज्यको क्रुर दमनले उनलाई अझ विद्रोही बनायो ।
कांग्रेसको आठौं महाधिवेशनमा धादिङ जिल्ला कार्य समिति सहसचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका ।
उनी २०५३ सालमा सभापतिको प्रत्यासी बने, तर सफल भएनन् । २६ कात्तिक २०५४ मा जिल्ला सभापति दामन पाख्रिनको निधनपछि उनी सभापतिमा चुनिए । पार्टीको जिल्ला सभापति रहेका अधिकारी २०५६ सालमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर विजयी भए । उनले नेकपा (एमाले) का गंगालाल तुलाधरलाई पराजित गरेका थिए ।
२०५६ पछि उनी २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा उठे, तर नेकपा (माओवादी)की उम्मेदवार कल्पना धमलासँग पराजित भए । २०७० मा सम्पन्न दोस्रो संविधानसभामा पनि कांग्रेसले अधिकारीलाई नै टिकट दियो, तर उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित भए । त्यतिबेला अधिकारी एमालेका उम्मेदवार गुरुप्रसाद बुर्लाकोटीसंग पराजित भए ।
अधिकारी २०५५ मा कार्यवाहक भएसंगै २०५७, २०६२, २०६७ र २०७८ मा गरी लगातार पाँचौं कार्यकाल धादिङ कांग्रेसको सभापति भए । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।
नेपाली कांग्रेसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकारीलाई धादिङ–२ बाट उठाएपछि अधिकारीले बाजी मारे । सत्ता गठवन्धनका साझा उम्मेदवार भएकाले पनि चुनाव जित्न उनलाई सहज भयो ।