Weather : 27.69° Celsius Kathmandu
काठमाडौँ : नेपाल वायुसेवा निगमले मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्र्तगत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु ओरालेर काठमाडौं फर्किने छ । उनका अनुसार, यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने जनाएको छ ।
निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।
तर, भारतसँगको हवाई सम्झौतामा विमानस्थलको नाम नतोकेकाले निगमले दिल्ली–भैरहवा नियमित उडान गर्ने छ । निगमसँगै अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तीन वायुसेवा हुने भएका छन् ।