Weather : 8.5° Celsius Kathmandu
धादिङ: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सरगर्मी सुरु भएको छ । गत २३ गते आइतबार उम्मेद्वारहरुको मनोनयन दर्ता भएसंगै देशमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ ।
स्वभाविकै हो, ५ वर्षपछि आएको निर्वाचनमा विभिन्न पार्टीबाट टिकटका लागि धेरै नै आकांक्षी देखिएका थिए । जिल्लाबाट सिफारिस भएका कतिपय नेताहरु दिनरात भोकतिर्खा नभनी केन्द्रिय नेताहरुको घरदैलोमा चहारिरहदा पनि मनोनयनको दिनसम्म आइपुग्दा टिकट पाउनबाट जिल्लिएका छन् भने कतिपयले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिने महत्वपुर्ण अवसर पनि पाएका छन् ।
तिनै अवसर पाउनेहरुमध्येमा एक हुन नेपाली काँग्रेस धादिङका पाका नेता एवं पुर्व जिल्ला सचिव गोविन्द लंसाल । २०३७ सालमा नेविसंघ धादिङ र २०५४ सालमा तरुण दल धादिङको नेतृत्व गर्दै ११ औ जिल्ला अधिवेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिवमा निर्वाचित भएका थिए । २०४४ सालमै सरकारी जागिर (शिक्षक) खाएको बेला एउटा कार्यक्रममा जय नेपाल शब्द सम्वोधन गरेकै कारण तत्कालिन सिडियो र जिल्ला पञ्चायतको ठाडो निर्देशनमा उनी बर्खास्तीमा परेपछि पुर्णकालिन राजनितिमा होमिएका थिए ।
यो प्रदेश क्षेत्रबाट उनी मात्रै होइन उनीसंगै उनका समकालिन र अनुज गरी दर्जन भन्दा बढी ब्यक्तिहरु टिकटको लागि आकांक्षी थिए । जिल्लाबाट सिफारिस भएसंगै प्रदेश सभाको टिकट हत्याउन केन्द्रिय नेताका निवासमा आकांक्षीहरुको लर्को लागेको थियो । अधिकांस आकांक्षीको राजधानीमा बास रहेको थियो । तर त्यो भीडबाट भने गोविन्द लंसाल परै थिए यद्यपी यो वीचमा काठमाण्डौ पुगेर आफ्ना समकालिन नेताहरुसंग भेटघाट भने गरेका थिए ।
नीलकण्ठ नगरपालिका वडा नं ९ बाट मतदाता रहेका लंसाल मनोनयनको दिन आइतबार पनि आफ्नै घरवरपर खेतीपाती र घरधन्दामै सक्रिय थिए । अकस्मात उनलाइ फोन आयो, ‘प्रदेश सभाको टिकट आउदैछ मनोनयन दर्ता गर्न सदरमुकाम झर्नु’ भनेर ।
उम्मेद्वारी दर्ता गरेपछि टेलिपत्रसंगको कुराकानीमा लंसालले भने, ‘बास्तवमा म टिकट पाएको जानकारी पाउँदा घाँस नै काटिरहेको थिए । सुरुमा होइन होला भन्ने लाग्यो, त्यसपछि पार्टीका जिल्ला तहका अरु पनि नेताहरुको फोन आएपछि भने आफैले पाएछु भन्ने पक्का भयो ।’
त्यसो त जिल्लाका कतिपय नेताहरुको तर्क छ प्रदेश सभामा गोविन्द लंसाललाइ टिकट टिम राजनिति मिलाउनलाइ दिइएको हो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा लंसाल शेर बहादुर देउवा टिमसंग नजिक देखिन्छन् भने यस क्षेत्रबाट संघीय संसदको टिकट पाएका पार्टीका जिल्ला सभापति रामनाथ अधिकारी शेखर कोइराला टिम तिरका हुन् । संघमा एउटा टिमबाट टिकट पाएपछि प्रदेशमा अर्को टिमबाट टिकट दिँदा पार्टीमा सन्तुलन कायम हुन्छ भनेर गोविन्द लंसाललाइ टिकट दिइएको हो भन्ने जिल्लाका कतिपय नेताहरुको तर्क छ ।
तर लंसालको आफ्नै भने फरक तर्क छ । आफुले टिकट पाउनुमा त्याग, धैर्यता र पार्टीप्रतिको योगदान नै प्रमुख कारण भएको लंसाल बताउँछन् । ‘मैले पार्टीमा गरेको योगदानको सम्मान गर्दै मलाइ पार्टीले टिकट दिएको हो ।’ लंसालले भने, ‘मैले नेपाली काँग्रेसमा रहेर लामो समय रगत पसिना बगाएको छु, नेपाली काँग्रेस मात्रै यस्तो पार्टी हो जहाँ त्याग इमान्दारिता र धेर्यता हुनेलाइ एकदिन पक्कै पनि सम्मान मिल्छ, मेरो टिकट नै एउटा उहादरण हो ।’
टिम राजनितिकै कुरा गर्ने हो भने पनि लंसालकै टिमबाट उनीभन्दा बलिया उम्मेद्वारहरु प्रदेशसभामा आकांक्षी थिए । तर टिकट लंसालले नै पाउनुलाइ भने उनको पार्टीप्रतिको योगदान र धैर्यतालाइ पुष्टि गर्छ ।
टीम भित्रको राजनितिमा पनि गोविन्द लंसाल पछाडी नै रहेका थिए । टीममै रहेपनि १३ औ र १४ औं महाधिवेशनमा लंसाल महाधिवेन प्रतिनिधिमै पराजित भएका थिए । संघिय संरचना गइसकेपछि भएको पहिलो क्षेत्रिय अभिवेशनमा पनि लंसाल क्षेत्रिय सभापति पराजित भएका थिए ।
टीमभित्रको राजनितिमा सधै पछाडी परिरहे पनि उनले कहिल्यै ठुलो भाग खोजेनन् । सधै पछाडी परिरहे तर पछि पछि भनेपनि हिड्न छाडेनन् । टीमको राजनितिमा पछाडि परेर माथिल्लो तहमा पहुँच बनाउन त सकेनन् होला तर तल्लो तहका नेता कार्यकर्ताहरुसंग पनि टाढा भएनन् ।
प्रमुख राजनितिक पाटीैबाट उम्मेद्वारी दिनेहरुमध्ये लंसाल यस पटकको संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् । गएको स्थानीय तहको निर्वाचन देखि मतदाताहरुमा एउटा नयाँ लहर छ- नयाँ भिजन, युवा, फरक सोच र क्षमता बोकेका मान्छे राजनितिमा चाहियो ।
मतदाताले खोजेको जस्तो मान्छे गोविन्द लंसाल हुन सक्लान नसक्लान त्यो समयले बताउला या भनौ मंसिर ४ पछिको नतिजाले बताउला । तर यतिबेला भने उनले प्रदेश सभामा पाएको टिकट र उनको उम्मेद्वारीकै चर्चा चुलिएको छ ।
लंसालसंग नेकपा एमालेबाट डाक्टर राम कुमार अधिकारी प्रतिस्पर्धामा उत्रिदै छन् । उनी २०७४ को निर्वाचनमा यसै प्रदेशबाट विजयी भएका हुन् । राम कुमार अधिकारी आफ्नो अघिल्लो कार्यकालको काम देखाएर फेरी भोट माग्न जाँदैछन् भने लंसाल गठबन्धनको बलमा उभिएर नयाँ अनुहार बनेर भोट माग्न जाँदैछन् ।
लंसालले जित्लान नजित्लान त्यो मंसिर ४ पछि नै थाहा होला तर उनले पाएको टिकटले काँग्रेसभित्र त्याग, निष्ठा, इमान्दारिता र सम्मानको एउटा झिल्को अझै पनि वाँकी छ भन्ने पुष्टि गर्दछ ।