Weather : 20.12° Celsius Kathmandu
नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।
शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका–१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।
नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उसलाई नियन्त्रणमा लिएर प्रहरीलाई ह्याण्डओभर गरेको थियो ।प्रसारण लाइनमा चढेका विक दिनभर तारम झुण्डिएर बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गरिएको थियो ।
प्रशारण लाइनमा विद्युत प्रवाह गर्दा दुर्घटना हुने जोखिम भएका कारण करिब ८ घण्टा विद्युत प्रशारण बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।