Weather : 20.12° Celsius Kathmandu
धादिङ: स्थानीय तहको निर्वाचन सकिएको छ । विगतमा जस्तै यस वर्ष पनि स्थानीय तहको निर्वाचनमा विभिन्न रोचक घटनाक्रमहरु देखिए ।
यस पटक धादिङमा दुवै उम्मेद्वारहरुको बराबर मत आएपछि गोला प्रथा गरेर विजयी उम्मेद्वार छान्नुपर्ने अवस्था समेत सिर्जना भयो । यस्तै अनौठो मध्येको एउटा घटनाक्रम हो विजेता पनि कुमार बहादुर अधिकारी पराजित पनि कुमार बहादुर अधिकारी ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ मा विजयी हुने उम्मेद्वार पनि कुमार बहादुर अधिकारी नै रहेका छन् भने पराजित हुने पनि कुमार बहादुर अधिकारी नै रहेका छन् ।
विजयी हुने कुमार बहादुर अधिकारी
विजयी हुने कुमार बहादुर नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार रहेका थिए भने पराजित कुमार बहादुर नेकपा एमालेबाट उम्मेद्वार रहेका थिए ।
विजयी हुने कुमारले ११ सय ११ मत पाउँदा पराजित हुने कुमारले ८ सय ६५ ल्याएका थिए । दुवैको एउटै नाम हुँदा चुनाव प्रचार प्रसारको क्रमको मतदाताहरु समेत अन्योलमा परेका थिए ।
पराजित हुने कुमार बहादुर अधिकारी
प्रचारमा खटिएका कार्यकर्ताहरुले ब्यक्तिको नाम लिएर भोट माग्दा कुन पार्टीको कुमार भन्ने प्रश्नहरु थुप्रै पाएको टेलिपत्रलाइ बताए ।
यो वडामा २०७४ मा नेकपा एमालेका रामचन्द्र अधिकारीले ७ सय ७७ मत ल्याएर निर्वाचित हुँदा माओवादीका राज कुमार कार्कीले ५ सय ६४ भोट पाएका थिए ।