Weather : 8.61° Celsius Kathmandu
धादिङः स्थानीय तह निर्वाचन सकिएको छ । धादिङको थाक्रे गाउँपालिकाको २ वटा वडा भन्दा बाहेक बाहेक अरु सवै पालिका र वडाहरुको मतपरिणाम आइसकेको छ । यो आलेख तयार पार्दासम्मको अवस्था हेर्दा नेपाली काँग्रेसले सवैभन्दा धेरै पालिकाको र वडाको नेतृत्व पाएको छ भने माओवादी दोस्रोमा रहेको छ ।
यस वर्षको स्थानीय तहको निर्वाचनको एउटा रोचक पक्ष के देखियो भने केन्द्रिय पहुँच भएका धादिङ जिल्लाका अधिकाँश प्रभावशाली नेताहरुले आफ्नै वडामा भने आफ्नो पार्टीलाइ जिताउन नसकेको देखिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे एमाले फुटेर बनेको नेकपा एकिकृत समाजबादीका केन्द्रिय उपाध्यक्ष हुन् । उनले धादिङको गजुरी गाउँपालिका वडा नं २ बाट मतदान गर्छन । नेकपा एसको प्रभाव उनको वडामा राम्रै प्रभाव हुनुपर्ने हो तर निर्वाचनको नतिजा हेर्दा नेकपा एस विजयी त हुन सकेन नै, निकटतम् प्रतिस्पर्धी पनि बन्न सकेन ।
यो वडामा नेपाली काँग्रेसका द्रोण कँडेल विजयी भएका छन् । उनले ६ सय ७१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्दीको नेकपा एमालेका नेतानन्द थपलियाको ५ सय ६८ मत मात्रै पाए । नेकपा समाजबादीबाट उठेका विजय तामाङको ४ सय ५७ मत मात्रै आएको थियो । यस वडामा २०७४ सालको निर्वाचनमा ८ सय ३७ मत ल्याएर नेकपा एमालेका उम्मेद्वार चुडामणी कँडेल निर्वाचित भएका थिए ।
त्यस्तै अर्को केन्द्रिय नेताको वडा हो खनियावास गाउँपालिकाको वडा नं ५, साविकको सत्यदेवी गाविस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले मतदान गर्ने यस वडामा यसपटक नेकपा एमालेले आफ्नो शीर उठाएको छ ।
आगामी प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकटको मुख्य दावेदार रहेका दिलमानले कार्यकर्ता ब्यवस्थापन गर्न नसक्दा आफ्नो वडा जिताउन सकेनन् । यो वडामा नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका रविन तामाङ विजयी बनेका छन् । रविनले ४ सय ३० मत ल्याउदा नेपाली काँग्रेसका लीला पाख्रिनले ३ सय २० मत पात्रै पाए ।
टिकट वितरणमा नाताबाद र कृपाबाद हावी भएको र कार्यकर्ताहरुमा छलफल नै नगरेको भन्दै नेपाली काँग्रेसकै कार्यकर्ता पुर्ण बहादर तामाङ गुरुङले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका कारण काँग्रेस पराजित हुन पुग्यो । पुतली चिन्ह लिएर चुनाव लडेका पुर्णले २ सय २३ मत ल्याइदिदा काँग्रेसका आधिकारिक उम्मेद्वार पराजित हुने पुगे ।
यसअघि २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसका बुधराम तामाङ रविन तामाङलाइ नै हराउदै निर्वाचित भएका थिए । काँग्रेस भित्रको कलहको मौकाको फाइदा रविनले मज्जैसंग लिएका छन् । ०७४ को निर्वाचनमा बुधरामले ६ सय ७९ मत ल्याउदा रविनले १ सय ४५ मत मात्रै पाएका थिए ।
त्यस्तै नेकपा एसका केन्द्रिय नेता गुरु बुर्लाकोटीले पनि आफनो वडामा पराजय बेहोरे । धादिङ जिल्लाभरिमा नै नेकपा एसका लागि बलियो मानिएको र एसले पनि बलियो दावी गर्दै आएको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा नेपाली काँग्रेसका किशोर सेढाइले बाजी मारे । ६ नम्वर वडामा नेकपा एसले दावी गर्न नछाडेकै कारण ज्वालामुखीमा वडा तहसम्म गठबन्धन बन्न सकेको थिएन । अन्ततः बुर्लाकोटीको पार्टी आफ्नै वडामा निकटतम प्रतिस्पर्धीमा बस्न बाध्य बन्यो ।
काँग्रेसका उम्मेद्वार किशोर सेढाइले यस वडामा १ सय १९ मतले नेकपा एस कि जुना राना मगरलाइ पराजित गरेका हुन् । सेढाइले ८ सय ७४ मत पाउँदा रानाले ७ सय ४४ मत मात्रै पाइन् । २०७४ को निर्वाचनमा यस वडामा नेकपा एमालेको तर्फबाट अर्जुन अर्याल ९ सय ६३ मत ल्याएर विजयी भएका थिए । एमाले विभाजनका बेला अर्याल समाजबादी तिर लागेर वडामा राम्रो संगठन विस्तार गरेपनि पार्टीलाइ जिताउन भने सकेनन् ।
त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य र धादिङ जिल्लाका इन्चार्ज पनि हुन वर्तमान धादिङ क्षेत्र नं २ का संघिय साँसद खेम लोहनी । उनले ज्वालामुखी गाउँपालिका वडा नं ७ बाट मतदान गरेपनि आफ्नो पार्टीलाइ भने वडाअध्यक्ष पदमा जिताउन सकेनन् । एमाले भित्र आएको विभाजनको ठुलो असर ज्वालामुखीमा देखियो । विगतका स्थानीय निर्वाचनहरुमा कम्युनिष्टको लगातार जीत रहदै आएको यस वडामा काँग्रेसले सानदार रुपमा शीर उठाएको छ ।
खेम लोहनीको वडामा ९ सय ८६ मत ल्याउदै नेपाली काँग्रेसका ज्ञानेन्द्र खकुराल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेद्वार सुर्य प्रसाद इटनीले ९ सय २८ मत मात्रै पाए । यो वडामा पनि २०७४ को निर्वाचनमा नेकपा एमालेका तेजनाथ लोहनी ८ सय मत ल्याएर निर्वाचित भएका थिए ।
त्यस्तै अर्को रोचक नतिजा देखिएको वडा हो नीलकण्ठ नगरपालिकाको वडा नं ८ । नीलकण्ठ नगरपालिकाको मेयरको लागि दोस्रो पटक निर्वाचित भएका भीम प्रसाद ढुङ्गानाले आफ्नै वडामा भने नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वारलाइ जिताउन सकेनन् ।
यति सम्म भयो कि ढुङ्गानाको वडामा नेपाली काँग्रेसले वडा सदस्यहरुमा उम्मेद्वारी नै दिन सकेन । आफु रुख चिन्ह लिएर प्रतिस्पर्धामा उत्रने तर वडा सदस्यमा भने विगतमा काँग्रेसककै कार्यकर्ता रहेका तर यस निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारहरुको चिन्ह भुइकटरमा भोट माग्न र हाल्न ढुङ्गाना आँफै बाध्य भए ।
यो वडामा वडा अध्यक्ष सहित सवै सदस्य स्वतन्त्रको टिमले जीत हात पारेको थियो । स्वतन्त्र उम्मेद्वारी दिएका टिमलाइ ढुङ्गानाकै नैतिक र आर्थिक साथ–समर्थन थियो/थिएन विस्तारै खुल्दै जाला । तर बहालवाला मेयर, काँग्रेस जिल्ला सभापतिका प्रत्यासीको वडा र जिल्लाभरिमै काँग्रेसको गढको रुपमा मानिएको नीलकण्ठ वडा नं ८ मा नेपाली काँग्रेसकै तर्फबाट उम्मेद्वारी नपर्नु भनेको काँग्रेसको इज्जतमा दाग लागेको काँग्रेसकै नेताहरु स्वीकार गर्छन ।
उता नेकपा एमालेका जिल्ला अध्यक्ष र क्षेत्र नं १ बाट संघिय साँसद समेत रहेका भुमि त्रिपाठीको नाक भने २ मतले जोगाइदिएको छ । उनले मतदान गरेको बेनिघाट रोराङगाउँपालिका वडा नं ३ मा नेकपा एमाले २ मतले मात्रै विजयी भएको थियो । । पराजित उम्मेद्वारहरु पुनः गणनाको माग लिएर अदालत जाने तयारी गरिरहँदा २ मतले मात्रै जित्ने अवस्था आउनुमा माओवादी र काँग्रेसको गठबन्धन मुख्य कारण भएको एमालेले दावी गरेको छ ।
त्यस्तै नेकपा एकिकृत समाजबादीका केन्द्रिय नेता गंगालाल तुलाधारले भने आफ्नो वडामा गठबन्धनको उम्मेद्वारलाइ साथ दिएर संकट टारे । उनको वडामा उनको पार्टीको उम्मेद्वारी नै परेको थिएन । उनको छिमेकी वडा ४ नम्वर (साविकको एउटै गाविस) मा उम्मेद्वारी दिएको भएपनि त्यहाँ पनि नेकपा एस दोस्रो मै चित्त बुझायो ।