Weather : 21.12° Celsius Kathmandu
गोेमा थापा/धादिङ
यो छोरीको लाइरहन्छ चिन्ता
भातै खान बिर्सन्छु कोही दिन त
चल्यो बतास.............
आफैले सृजना गरेको यो गीत जानुका मिजारले गाएरै सुनाईन् । गीतका यी दुई लाइनले जानुका मिजारको सिङ्गो जीवन बोलेको छ । गीत सरल तर मार्मिक छ । गीतमा हामी जानुकाको कारुणिक श्रब्यचित्रको अनुभूत गर्न सक्छौँ ।
नीलकण्ठ नगरपालिका –४ पौवा, राम्चे निवासी जानुका मिजारकी २२ वर्षिया छोरी सुमित्रा रोक्का अरूको सहयोग बिना केही गर्न सक्दिनन् । जानुकाले २२ वर्षदेखि छोरी सुमित्रा रोक्कालाई निरन्तर हेरचाह गर्दै आइरहेकी छिन् ।
जानुकाको सानैमा गर्भे मिजारसंग बिबाह भयो । कम उमेरमै उनीहरूको सन्तान पनि भयो । तर, अभिभावकको दायित्व बुझ्ने र निर्वाह गर्ने न उनीहरूको हैसियत थियो न त उमेर नै ।
छोरी चार वर्षकी भएपछि मात्रै आमा जानुकाले छोरी अपांगता भएको थाहा पाइन् । छोरी हिड्न र बोल्न नसक्ने कुरा डाक्टरको मुखबाट पहिलो पटक सुन्दा उनी छाँङ्गोबाट खसेकोजस्तै भइन् । जीन्दगीको सबैभन्दा पीडादायक त्यो क्षण सम्झिंदामात्र उनलाई अहिले पनि सम्हालिन निकै गाह्रो पर्छ ।
श्रीमान् स्कूल पढ्दै । घरको आर्थिक अवस्था दयनीय । यस्तो प्रतिकुल परिस्थितिमा उपचारमा खर्च गर्न सक्ने उनको अवस्था रहेन । उनलाई त्यो बेलामा छोरीको उपचार गराउन सकेको भए छोरी ठिक हुन्थिन् कि भन्ने लागि रहन्छ । त्यसैले मन भुलाउन उनी गीत गुनगुनाउँदै बिगत बिर्सन चाहान्छिन् ।
मनको पिरले भएको छु दंग
आफ्नो बच्चा भएसी अपांग
चल्यो बतास.................
धेरै सार्बजनिक कार्यक्रममा जानुकाले सहभागिता जनाइ सकिन् । अपाङ्गतासंग सम्बन्धित संघसंस्थाहरूसंग पनि उनको आबद्धता छ । धेरै देखिन् । धेरैको पीडा सुनी सकिन् । यसो हुँदा मन बलियो पार्न केही मद्दत गरेको उनको अनुभूति छ ।
जानुकालाई श्रीमान् र परिवारको साथ र सहयोगले नै छोरीको स्याहार सुसारमा सहज भएको छ । छोरी बोल्न सक्दिनन् । हिंड्न सक्दिनन् । तर उनी मनको निकै बाठो भएको जानुकाको ठम्याई छ ।
पुरुष अपांगताको तुलनामा महिला अपांगता भएका व्यक्तिहरूको समस्या निकै भिन्न छ । उनीहरूको हेरचाहमा विशेष तालिम, दक्षता र लगाव चाहिने जानुकाको अनुभव छ ।
अपांगता भएका बालबालिका र किशोरीहरू हिंसामा परेको घटना उनी सुन्थिन् । त्यसैले उनले छोरी सुमित्रालाई १०/१२ वर्षको उमेरदेखि एक्लै छोड्ने गरेकी छैनन् । एक्लै छोडेर कतै काममा निस्कनु परिहाले बाहिरबाट कोठामा ताल्चा लगाएर जाने गरेको उनी विवशता पोख्छिन् ।
घरव्यवहार, बच्चाको हेरचाह र आफ्नो कामको तालमेल कहिले त निकै कठिन पर्छ । स्थानीय सरकारले स्याहारकर्ता भत्ता वा अभिभावकलाई आयआर्जन गर्न सक्ने सिप दिए अरुको सहारामा मात्र हलचल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत पुग्ने जानुकाको जोड छ ।
अपांगता परिचयपत्र दिने, भत्ता दिने काम भएपनि लक्षित वर्गको लागि छुट्याइएको बजेट भने कता प्रयोग हुन्छ भन्ने कुरा बजेट प्रयोग भइसकेपछि मात्रै थाहा पाइने उनको गुनासो छ । आफैं वडा सदस्य भएर पनि अपांगता भएका व्यक्ति र अभिभावका लागि केहि गर्न नसकेकोमा उनलाई निकै पछुतो छ ।
सासु आमाको मृत्युपछि अशक्त छोरीको स्याहारको लागि जानुकाले १५ वर्षदेखि संचालन गरेको व्यवसाय छोडेर अहिले घरमै कपडा सिलाएर बसेकी छिन् । बाइस वर्षिया सुमित्रा रोक्काजस्तै पुर्ण अपाङ्गता आफैमा जटिल समस्या हो । त्यो पनि एकै परिवारका दुईदुई सदस्य अपाङ्गता हुँदा पारिवारीक अवस्था कस्तो होला ?
हामी एकछिन कल्पना गर्न पनि सक्दैनौं तर,नीलकण्ठ नगरपालिका वडा नं.२ पाँचधारेमा एकै परिवारमा दुई सदस्य अपांगता भएका छन् । तीस वर्षका गंगा सुनार र तेईस वर्षका राजेश सुनार दुबैमा अपाङ्गता । अभिभावकको साहारा बिना उनीहरूको दैनिकी चल्दैन । गंगा र राजेशका बुवा ठाकुुर सुनारले आफ्नो दुख र पीडा नजिकबाट सुनाए ।
छोराहरु चार वर्ष नपुगुन्जेलसम्म ठाकुर सुनारले आफ्ना बच्चामा अपाङ्गता छ भन्ने भेउ नै पाएनन् । उमेर अनुसार बच्चामा शारिरीक क्षमता नदेखेपछि बल्ल उनी झस्कीए । खेतीपातीबाट ठाकुरले मुस्किलले तीन महिना कटाउँछन् । त्यसपछि शुरु हुन्छ परिवार कसरी पाल्ने ? अपाङ्गता भएका दुई सन्तानलाई चारो कसरी जुटाउने ?
शुरुमा ठाकुरले छोराहरुको उपचार नगराएका होइनन् । सम्पूर्ण चेकजाँच गर्दा पनि कुनै रोग पत्ता नलागेपछि डाक्टरले नै वंशाणुगत रोग होकी भन्ने आशंका गरेपछि ठाकुरले चित्त बुझाए ।
उमेर छिप्पिंदै जाँदा छोराहरुको समस्या झन् जटिल बन्दै गएको ठाकुरको ठम्माई छ । ठाकुर भन्छन् – “घरमै बस्ने हो लगाउने कपडा त बरु जे लगाएपनि हुन्छ । खानेकुरा जस्तो पायो निल्न सक्दैनन् । ढिँडो फाँडो खान सक्दैनन् गिलो खाना पकाएर खुवाउनुपर्छ ।” जति बाँच्छन् बाँचुन्जेलसम्म अपाङ्ग छोराहरूलाई पेटभरि भात ख्वाउन पाए हुन्थ्यो , ठाकुर भन्छन् । राज्यले दिनेगरेको भत्ता बाहेक अपाङ्गलाई गाउँका नेताले केही गरेनन् – ठाकुर गुनासो पोख्छन् ।
साँखुकी सीता सुनारको पनि ठाकुरको जस्तै व्यथा र पीडा छ । तेह्र वर्षदेखी उनी पनि अशक्त छोरा डिल बहादुरकै हेरचाहमा आफ्नो दिन बिताइरहेकी छिन् ।
अभाव र पीडामा पिल्सिएका कतिपय मानिसलाई अपाङ्गताको चेत नै छैन । आफ्ना बालबच्चा हुर्की सके । तर, उनीहरू बालबच्चाको समस्या छुट्याउन सक्दैनन् । त्यस्तै सीतालाई पनि आफ्नो छोरामा अपांगता भएको कुरा पछि मात्र थाहा पाइन् ।
जब थाहा पाइन् उपचार गराउन सक्ने सीताको सामर्थ्य थिएन ।
गाउँमा चन्दा उठाइन् र छोरालाई उनले वीर अस्पताल पु¥याइन् । एक महिना १५ दिन त निरन्तर अस्पतालमै राखेर उपचार गराइन् । केही वर्ष त उनले छोरालाई अस्पताल लाने ल्याउने गराई रहिन् । दुईतीन वर्षयता अस्पतालले बोलाएर पनि सीताले छोरालाई पु¥याउन सकेकी छैनन् ।
उनको छोरा लौरो टेकेर धरमराउँदै आँगनमा हिंड्ने प्रयास गर्छन् । त्यो दृश्य देख्दा पनि सीता खुसीले फुरुङ्ग पर्ने गर्छिन् ।
डिलबहादुर बौद्धिक अपाङ्ग हुन् । भोकतिर्खा लागेको संकेत समेत उनी दिन सक्दैनन् । खाना खुवाउनेदेखि दिसापिसाबसम्म आफैले गराईदिने गरेको आमा सीताको भनाई छ ।
रातोकार्ड पाएका डिलबहादुरलाई राज्यले भत्तासमेत उपलब्ध गराउँछ । त्यही भत्ता दुखमा ठूलो काम आउने गरेको सीताको अनुभव छ ।बृद्ध र रोगी श्रीमान् अनि अपांगता भएका छोराको स्याहारमा आधादिन खर्चिनुपर्ने सीतालाई दैनिकी खर्च जुटाउन पनि हम्मे हम्मे पर्छ ।
संघिय सरकारले पठाएको अपांगता भत्ता वितरण बाहेक स्थानीय सरकारले काम गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष आश्विन लंसाल बताउछन् । अध्यक्ष लम्साल भन्छन्– राज्यले उचित ध्यान, उचित संरक्षण गर्न एउटा प्याकेज नबनाएसम्म, राज्य संवेनशील बन्नुपर्छ । अपांगता भएका व्यक्तिलाई सवल कसरी बनाउने भन्नेप्रति ध्यान जानु जरुरी छ ।
अपाङ्गता भएका व्यक्तिहरू पनि समाजको एक सदस्य हुन् भन्ने बुझाई नेपालमा नीतिनिर्माणको तहमा बस्नेहरूमा अझै आउन नसकेको अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा सुनाउँछन् । अध्यक्ष खतिवडा अझै अपांगता भएका व्यक्तिहरुमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगार नै मूल समस्या भएको खुलाउँछन् । स्थानीय सरकारले नै अपांगता भएको व्यक्ति र परिवारको लागि जिम्मेवार बनि प्रभावकारी काम गर्न जरुरी छ ।