Weather : 20.12° Celsius Kathmandu
दाङ : दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।
बिहीबार लमही–३ टिकुलीगढमा करिब २० वर्षीय युवकले पेस्तोल जस्तो बस्तु बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका लमही र अस्थायी प्रहरी चौकी नर्तीबाट गएको प्रहरी टोलीले टिकुलीगढस्थित जुनु बडी बिल्डर्स (ठूला गाडी मर्मत गर्ने ग्यारेज)मा काम गर्ने सोमुले कम्मरमा लुकाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा बाग्लुङको बुर्तिबाङ झियाखोला घर भई हाल लमही नगरपालिका–३ बस्ने २० वर्षीय सोमु विक, रूपन्देही शुद्धोधन गाउँपालिका–२ भुजौली घर भई लमही–३ बस्ने ४० वर्षीय कमल भनिने रुकमान सुनार र लमही–३ मझगाउँस्थित फर्निचर तथा आरन सञ्चालन गरी बस्ने करिब ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनका अनुसार बटको भागदेखि नालसम्म १ फिट ३ इन्च लम्बाइ र नालको गोलाइ ४ इन्च भएको घरेलु जस्तो देखि पेस्तोल फेला परेको हो । प्रवक्ता रिजालले भने, ‘ पक्राउ परेका सोमसँग सोधपुछ गर्दा उक्त हतियार ग्यारेज मालिक रुकमान भएको जानकारी पाइयो ।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मुमबहादुरसँग ३ हजार किनेको खुल्न आएको छ। अहिले तिनै जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि हातहतियार खरखजाना ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले उनीहरूको साथबाट विभिन्न सामग्री पनि बरामद गरेको जनाएको छ ।