Weather : 28.24° Celsius Kathmandu
धादिङ : धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य गंगाजमुना माईमा आज आईतबार मेला लाग्ने भएको छ। हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेला यसबर्ष भव्यताको साथ मनाउन लागिएको मेला आयोजक मूल समारोह समितिका संयोजक एवं गंगाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीले जानकारी दिनुभयो ।गत बर्ष कोरोनाको कारण रोकिएको थियो। भोलि २८ गते दिउँसो २ बजेबाट कलाकार कृष्ण कंडेल नेतृत्वका ईन्द्रेणी टोलीको विशेष मनोरञ्जनात्मक प्रस्तुति सहित मेला आयोजना गर्न लागिएको अधिकारीले बताउनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत निर्माण गरेको छ। उपसमितिहरुमा वडा नं. ७ का अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा आर्थिक उप–समिति, वडा नं. ६ का अध्यक्ष भक्त बहादुर लामिछानेको अध्यक्षतामा स्वयंसेवक परिचालन उप–समिति, वडा नं. ४ का अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा खाद्य व्यवस्थापन उप–समिति, वडा नं. २ का अध्यक्ष फैसिङं तामाङको अध्यक्षतामा प्रचार प्रसार उप–समिति, वडा नं. ३ का अध्यक्ष विजय कुमार गुरुङको अध्यक्षतामा सरसफाइ, मर्मत संभार तथा खानेपानी उप–समिति, गाउँ कार्यपालिका सदस्य रत्नमाया घलेको अध्यक्षतामा अतिथि सत्कार उप–समिति, वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा पूजा तथा मञ्च व्यवस्थापन उप–समिति र शुसिल गुरुङको अध्यक्षतामा पार्किङ व्यवस्थापन उप–समिति गठन गरिएको छ।
धार्मिक महत्व बोकेको गंगाजमुना माई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा हरेक वर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ ।२८ गते रातभरी नै विभिन्न सांस्कृतिक कार्यक्रम हुने,झाँक्रि नाँच प्रर्दशनी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने कार्यक्रम तय भएको छ।हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कात्तिक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ।
ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ। झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजा आजा गर्ने प्रचलन पनि रहेको छ । मेलामा स्नान गरी पूजा गर्ने, बत्ती बाल्ने, फुलको डोली लैजाने गर्दछन्।